अत्तरिया । कैलाली भन्सार कार्यालय, धनगढीले तीन महिनामा एक अर्ब ७९ करोड २८ लाख राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोजसम्ममा सो परिमाणमा राजस्व संकलन गरेको हो ।
कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार भन्सार महसुलतर्फ रु. ६९ करोड ६७ लाख, मूल्य अभिवृद्धि करतर्फ रु. ६८ करोड ९८ लाख, अन्त:शुल्कतर्फ रु. पाँच करोड तीन लाख र अन्यतर्फ रु. ३५ करोड ५८ लाख राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षका कुनै पनि महिनामा राजस्व संकलन लक्ष्यमा भने पुग्न सकेको छैन ।
साउनमा रु. ७१ करोड ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु. ५७ करोड ८० लाख, भदौमा रु. ७४ करोड २१ लाख राजस्व संकलनको लक्ष्य रहेकामा रु. ५३ करोड ७० लाख र असोजमा रु. ७६ करोड ७७ लाख राजस्व संकलनको लक्ष्य रहेकामा रु. ६७ करोड ७८ लाख मात्रै राजस्व संकलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए । चालु आर्थिक वर्षमा रु. नौ अर्ब ७१ करोड १५ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेको उनले बताए ।
तीन महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको १८ दशमलव ४६ प्रतिशत हो । आर्थिक वर्ष २०८१/८२ मा पनि राजस्व लक्ष्यअनुसार संकलन भएको थिएन । गत आर्थिक वर्षमा रु. ११ अर्ब १६ करोड २६ लाख राजस्व संकलनको लक्ष्य रहेकामा रु. आठ अर्ब ६६ करोड ९८ लाख मात्रै राजस्व संकलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए। यो वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत मात्रै हो ।