काठमाडौं । ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले देशको समृद्धि र अग्रगामी परिवर्तनका लागि अब विकासको राजनीतिमा लाग्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ढुंगानाले अब क्रान्तिको नभई विकासको युग सुरु भएको बताए । ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको माग गर्दै उक्त माग पुरा नहुँदासम्म आफूहरू चुनावमा नजाने बताए ।
उनले भने, ‘बटमलाइन पूरा नभई हामी चुनावमा जान तयार छैनौं । प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो मुख्य माग हो, त्यो माग सुन्नैपर्छ । यो विना हामी कतै जानेवाला छैनौं ।’
उनले राजनीतिक दल खोल्नुको अर्थ निर्वाचनमा जानु नभएको बताए । उनले भने, ‘हामीले राजनीतिक दल खोल्नुको अर्थ निर्वाचनमा जानु भनेर कदापी होइन । यो क्लियर होस् ।’
ढुंगानाले अहिलेको अवस्थालाई ‘भाँडभौलो’ नभई ठोस योजनासहितको विकासको दिशामा अघि बढ्नुपर्ने समयको माग भएको बताए । उनले भने,‘हामी भाँडभौलो मच्चाउन आएका होइनौं । विकास ल्याउन जे जे गर्नुपर्छ, त्यो गर्ने हो ।’
उनले भदौ २३ र २४ मा भएको ऐतिहासिक विद्रोहमा ७६ जनाको बलिदानबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्न सबैले गम्भीर बन्नुपर्ने बताए । उनले भने, ‘देशको लागि लड्न एकदमै जरुरी छ । अहिले जे भयो, भयो एक लेबलको क्रान्ति आयो, अब विकास आउँछ । हामी क्रान्तिकारी होइनौं, विकासवादी हौं ।’
उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिलाउनुपर्ने माग पनि दोहोर्याए । उनले भने, ‘तीन करोड नेपालीमा ८० लाख नेपाली छुटाएपछि देश कतातिर जान्छ ? देशको मुख्य आम्दानी स्रोत रेमिट्यान्स हो । रगत, पसिना बगाएर विदेशमा बस्ने नेपालीलाई मतदान अधिकार नदिई निर्वाचनमा जानु अन्याय हुनेछ ।’