ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता, हङ्गेरीमा भेटवार्ता हुने

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको टेलिफोन कुराकानीमा ‘ठूलो प्रगति’ भएको बताएका छन् ।

साथै दुवै पक्ष हङ्गेरीमा आमुन्नेसामुन्ने वार्ता गर्न सहमत भएको पनि उनले बताए । मध्यअगस्टयता पहिलोपटक भएको पुटिनसँगको कुराकानी ‘निकै फलदायी’ रहेको उनले बताएका हुन्।

ट्रम्पका अनुसार वाशिङ्टन र मस्कोका प्रतिनिधिहरूबीच आउँदो साता भेटघाट हुने छ । ट्रम्पले पुटिनसँग बुडापेस्टमा हुने बैठकको मिति भने पुष्टि गरेनन् ।

क्रेम्लिनले उक्त ‘अत्यन्तै खुलस्त र भरोसायोग्य’ फोनवार्तापछि ‘तत्कालै’ शिखरवार्ताबारे काम सुरु हुने बताएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ह्वाइट हाउस जाने निर्धारित तालिकाको एक दिनअघि र ट्रम्पले रुसको भित्री भागसम्म हमला गर्न सक्ने ‘टमहक’ क्षेप्यास्त्र युक्रेनलाई दिने कि नदिने भन्ने सम्बन्धमा विचार गरिराखेका बेला फोनवार्ता भएको हो ।

अमेरिका पुग्नासाथ जेलेन्स्कीले मस्को ‘टमहकको कुरा सुन्नासाथ पुनः वार्ता थाल्न हतारिएको’ टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले आफू र पुटिनबीच ‘युक्रेनको युद्ध समाप्त भएपछि रुस र अमेरिकाबीच हुने व्यापारबारे निकैबेर कुरा भएको’ बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *