संसद पुनःस्थापना हुनसक्ने भएपनि त्यो एजेन्डा अब गौण बनिसक्योः प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र) का महाधिवेसन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संयोजक प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जालमार्फत संगठित भएको युवाको आन्दोलनलाई ‘नयाँ राजनीतिक चेतना’ को संकेतको रूपमा लिँदै यसले विगतदेखि उठाउँदै आएका माओवादीका मागहरूसँग मेल खाने बताएका छन् ।

बिहीबार चितवनको भरतपुरमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले युवाहरुले उठाएका मागहरू हाम्रो आन्दोलनसँग मेला खाने बताए । उनले भने, ‘युवाहरुले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन् । हाम्रो पार्टीले आरम्भदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियान अहिलेको जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत हुनु गौरवको कुरा हो ।’

प्रचण्डले २३ गते राजधानीमा भएको आन्दोलनको क्रममा देखिएको “गम्भीर सुरक्षा लापरबाही” लाई घटनाको मुख्य कारण ठहर गर्दै तत्कालीन प्रधानमन्त्री तथा सरकार प्रमुखको भूमिकाको आलोचना गरे ।

उनले भने, ‘युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो । तर सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो । गोली हानिँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो ।’

प्रचण्डले घटनापछि २३ गते राति नै काठमाडौं फर्केर पार्टीको आकस्मिक बैठक बसेको र सबैभन्दा पहिले माओवादी केन्द्रले आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, उच्चस्तरीय छानबिन गठन गर्ने र प्रधानमन्त्रीको राजीनामाको माग गर्दै आधिकारिक निर्णय सार्वजनिक गरेको बताए ।

उनले भने, ‘हामीले आन्दोलनलाई वैधानिकता दियौं, प्रतिपक्षी दलहरूलाई एउटै धारणा बनाउन आग्रह गरियो, र प्रत्यक्ष समन्वय गरेर देशलाई शान्तिपूर्ण समाधानतर्फ डोर्याउन पहल गरियो ।’

२४ गते सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक सकेर बाहिरिने क्रममा सुरक्षाको जोखिम बढेपछि आफू स्वयंको पहलमा सुरक्षा खोज्दै सेनाको समन्वयमा सिंहदरबारभित्र सुरक्षित रहनुपरेको प्रसंग पनि उनले सुनाए ।’हामीलाई कसैले लिएको होइन, हामीले परिस्थिति मूल्याङ्कन गरेर सुरक्षा संयन्त्रको सहायतामा सुरक्षित स्थानमा गयौं,’ उनले भने ।

प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्थाले अब निर्वाचनबाहेक अर्को उत्तम विकल्प नदिएको स्पष्ट पार्दै सबै दलहरू निर्वाचनतर्फ उन्मुख हुनुपर्ने बताए ।

उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलहरू, अन्तर्राष्ट्रिय समुदाय, सबैले निर्वाचन नै अबको प्राथमिकता हो भन्ने निष्कर्षमा पुगेका छन् । जनताले पनि परिवर्तनको मार्ग निर्वाचनमार्फत रोज्ने छन् ।’ संसद पुनःस्थापना हुनसक्ने भएपनि उक्त एजेन्डा अब गौण बनिसकेको र एमाले बाहेकका सबै दलहरू निर्वाचनमा जान सहमत भइसकेको उहाँले बताए ।

एमालेभित्र पनि बहुमत चुनावका पक्षमा रहेको उल्लेख गर्दै उनले भने, ‘ढिलोछिटो सबै दल चुनावमा जान्छन् ।’ एमाले अध्यक्ष अ‍ोलीले गल्तीहरूबाट कुनै आत्मसमीक्षा नभएको उल्लेख गर्दै भने, ‘उनको कारण यति धेरै जनधनको अत्यधिक क्षति भयो । तर आज पनि कुनै पश्चाताप छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *