काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले भन्दैमा आफूलेपद नछोड्ने बताएका छन् ।
बुधबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू रहने, नरहने कुरा केन्द्रीय कमिटी वा महाधिवेशनले गर्ने बताएका हुन् ।
उनले फेसबुकमा लेखेर आफूले पद नछाड्ने बताए । उनले भने, ‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन यो कमिटीले भन्नुपर्छ यो कमिटीले भन्छ भने यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु ।’
त्यसैगरी उनले आफू कहिल्यै पनि नबिग्रिएको बताए । उनले भने, ‘केही केही अझै भन्छन् केपी ओली सप्रिएन भनेर । केपी ओली बिग्रिएको भए पो सप्रिनु । सप्रिनलाई के देशभक्तिको दृष्टिकोण, देश विकास र राष्ट्रिय स्वाधीनताको दृष्टिकोण छोड्नुपर्ने हो ?’
उनले उनले पार्टीभित्र कुरा नगर्ने तर लहैलहैमा लागेर अनेक खालका हल्ला गर्नेहरू चाहिँ सप्रिनु पर्ने बताए । ओलीले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक घटनाक्रमबाट अघि बढेको दृष्टान्त प्रस्तुत गर्दै राष्ट्रिय स्वाभिमानका साथ देशको शिरमाथि उठाउने पार्टी एमाले मात्रै भएको बताए ।
उनले मुलुकलाई लोकतन्त्र, शान्ति, विकास, सामाजिक न्याय, समृद्धिको लयमा फर्काउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।