काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक बर्बादीतर्फ धकेलिएको बताएका छन् । बुधबार केन्द्रीय कमिटीको दशौं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब मुलुकलाई फेरि लोकतान्त्रिक बाटोमा फर्काउनुपर्ने बताए ।
उनले मुलुकलाई बर्बादीतर्फबाट जान नरोके दुर्घटनामा जाने चेतावनी दिए । उनले एमाले लिएका राम्रा नीतिकै कारण पछिल्लो समय पार्टीमाथि प्रहार भएको बताए ।
उनले भने, ‘हामी प्रहारको अरूभन्दा बढी निशानामा परेका छौं । हामीमाथि धेरै प्रहार भएको छ । यो हामीले नराम्रा काम गरेर होइन, हाम्रा नीतिहरू राम्रा भएर निशाना बनाइयो । लोकतन्त्र मन नपराउने र तानाशाही तत्वहरूले निशाना बनाए ।’
उनले एमाले एकछिन सरकारबाट हट्दा सधैँका लागि सरकारबाट हट्यो भनेर भ्रममा नपर्न चेतावनी दिए । उनले भने, ‘देशका लागि नेकपा एमाले चाहिन्छ । एक छिन हामी सरकारबाट हट्दा सधैँका लागि हट्यो भनेर भ्रममा नपरे हुन्छ ।’
उनले सरकारमा रहँदा कतिपय समयमा आफ्नै पार्टीका नेताहरूबाट समेत सरकारको विरोध गरिएको भन्दै सरकारमा आउन नदिने प्रपञ्च संविधान जारी भएदेखि नै हुँदै आएको बताए ।
ओलीले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक घटनाक्रमबाट अघि बढेको दृष्टान्त प्रस्तुत गर्दै राष्ट्रिय स्वाभिमानका साथ देशको शिरमाथि उठाउने पार्टी एमाले मात्रै भएको बताए ।
उनले मुलुकलाई लोकतन्त्र, शान्ति, विकास, सामाजिक न्याय, समृद्धिको लयमा फर्काउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।