समकालिन अन्य पार्टीका अध्यक्षको तुलनामा शेरबहादुरजीले हिउँको ढिक्का फोड्नु भएकै हो

-जेपी गुप्ता

बि.स. २०३७ को एक आमसभामा बिपी कोइरालाले भावी प्रधानमन्त्रीका बारेमा बोल्नु हुँदै सबैलाई तरंगित पार्नुभयो । उहाँले भन्नु भयो–’मुलुकमा अहिले प्रजातन्त्र छैन । नेपाली काँग्रेसको आन्दोलनबाट प्रजातन्त्र आउँदा हाम्रा साथी परशुनारायण चौधरी प्रधानमन्त्री बन्नु हुनेछ।’ सभामा उपस्थित गणेशमानजी र किसुनजी थोरै पनि असहज देखिइनु भएन ।

भोलिपल्ट बिहानै एकथरी कुपण्डेलमा किसुनजी बस्नु हुने घरमा पुगेर बिपीको त्यस भनाईकाप्रति असन्तोष जनाए । भर्खरै गीताका एक अध्याय पढीओरी बाहिरिनु भएका किसुनजीले बडो ध्यानपूर्वक उनीहरूका कुरा सुन्नुभयो र मन्द आवाजका साथ रेडियोबाट आइरहेको आवाजलाई कम गराउदै तिनीहरूतर्फ उन्मुख हुनु भयो । हाँस्दै भन्नु भयो–’तपाईँहरूलाई के थाहा बिपीले मेरो लागि नियतिको कुन चयन सोच्नु भएको छ?’ सामाजिक संजाल तथा कयौं ‘स्कूपबाल’ दैनिकहरूको जमाना थिएन। कतिपयको मन मनै कुरा उठ्यो होला, तर यस कुराको कुनै अतिरंजित बहस देखिएन।

बिपीले त्यसो बोल्नु भएको बखत प्रतिबन्धित नेपाली काँग्रेसमा परशुजीको त्यो हैसियत थियो वा थिएन, त्यता नजाउँ। जबकी, त्यसको २–३ वर्ष पहिले नै बिपीले अमेरिकाबाट नेपाल फर्किने क्रममा भारतको पटनामा आयोजित काँग्रेसको सम्मेलनमा आफू नेपाल पुगेपछि जेल पर्ने निश्चित छ, गणेशमानजी पनि जेल पर्नुहोला । त्यसबेला साथीहरूले किसुनजीबाट निर्देशन पाइरहनु हुनेछ भन्नु हुँदै किसुनजीलाई पार्टीको कार्यवाहक सभापति तोक्नु भयो ।

यसको २–४ दिन पहिले नै सूवर्णजीले कलकत्तामा बिपीलाई काँग्रेसको सभापतित्व फिर्ता गर्नु भएको थियो । बिपीहरू २०१७ सालमा जेल पर्नु भएपछि २०१८ सालमा पटनामा भएको नेपाली काँग्रेसको सम्मेलनले सूवर्णजीलाई बिपीको अनुपस्थितिमा पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो। सोही जिम्मेवारी क्यान्सरले थलिनु भएका सूवर्णजीले त्यसदिन बिपीलाई फिर्ता गर्नु भएको थियो ।

किसुनजी २०१६ को संसदमा सभामुख हुनुहुन्थ्यो । पहिलो संसदीय चुनावमा बिपीले गिरिजाबाबुलाई मोरङबाट संसदका लागि पार्टीको टिकट दिनु भएन । आफ्नो साख्य भाइलाई टिकट दिएको अपगालका लागि बिपीले टिकट दिनु भएन । किसुनजी र गिरिजाबाबु समान उमेरकै हुनुहुन्थ्यो। उमेरमा किसुनजी गिरिजाबाबुको भन्दा जम्माजम्मी २ महिना ७ दिनको जेठो हुनुहुन्थ्यो, यसलाई जेठो पनि भन्न नसकिने । ०७ सालको क्रान्तिमा किसुनजी उदयपुरगढी कब्जा गर्ने नेता र गिरिजाबाबु विराटनगर । तर, बिपीले किसुनजीलाई पार्टीको कार्यवाहक सभापति तोक्नु भयो, यसको एक साता नबित्दै गिरिजाबाबुलाई किसुनजीको मातहत पार्टीको महामन्त्री तोक्नु भयो ।

त्यो काँग्रेसको समय थियो । त्यतिखेर महामन्त्री भनेपछि गगन थापा र महामन्त्री गिरिजा एकैस्तरको हुदैन्थ्यो । न त काँग्रेसको कार्यवाहक सभापति सूवर्णजीको स्तरमा पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरूङको स्तर एउटै हुन्थ्यो । त्यो काँग्रेसको जमाना थियो, अहिले काँग्रेसमा रामराज्यको जमाना हो । त्यतिखेर किसुनजी भन्नुहुन्थ्यो–’तपाईँहरूलाई के थाहा बिपीले मेरो लागि नियतिको कुन चयन सोच्नु भएको छ?’ यतिखेर बर्षौं पहिले रोलक्रमको निर्धारण गरिन्छ काँग्रेसमा ।

जे होस्, लेखनमा मेरा भावनाहरू बहकिनु भन्दा पहिले नै यति कुरा इमान्दारिताका साथ भन्न चाहन्छ कि, पार्टीको सभापतित्व कार्यवाहक सभापति मेरा अनन्य मित्र पूर्णबहादुर खडकालाई सुम्पेर मलाई पनि बडो भावुक बनाउनु भयो । यो सहज काम होईन, बिपीको जमाना होईन। पूर्णबहादुरलाई किन ? अर्जुननरसिंह वा शेखर कोइरालालाई किन नाई ? यस्ता कुराहरू उठलान् तिनका काँग्रेसमा । यो तिनको कुरो हो, तर यति त सत्य हो कि आफ्ना विश्वासिलो र कुरा मान्ने मानिसको रूपमा कार्यवाहकको दायित्व पूर्णबहादुरमा गयो, यो किमार्थ खराब होइन । पदीय रूपमा अहिलेका अर्का उपसभापतिकोमा र ‘ग्रुम गरिंदै लगिएकी’ आरजु जी को मा जाने रोलबाट काँग्रेस अलग हटेको छ । समकालिन अन्य पार्टीका अध्यक्ष वा सभापतिको तुलनामा शेरबहादुरजीले हिउँको ढिक्का फोड्नु भएकै हो । धन्यवाद शेरबहादुर दाइ, कुनै बेला तपाईँको मन्त्री पनि थिएँ..धेरै कुराहरू यतिखेर याद आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *