ढाका । बंगलादेशको राजधानी ढाकास्थित मिर्पुर क्षेत्रमा रहेको कपडा कारखानामा भएको आगलागीमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । अधिकारीहरूले मृत्यु हुने सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् ।
फायर सेवा विभागका अनुसार हालसम्म १६ वटा शव फेला परेका छन्, तर ती पहिचान गर्न नसकिने गरी डढेका छन् ।
मंगलबार दिउँसो कारखानामा आगलागी भएपछि तीन घण्टापछि नियन्त्रणमा ल्याइए पनि छेउमै रहेको रासायनिक गोदाममा रातभर आगो बलिरहेको अधिकारीहरूले जनाएका छन्।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, राति ९ बजेसम्म पनि गोदाममा लागेको आगो पूर्णरूपमा निभाइएको थिएन ।
फायर सेवा अधिकारीहरूले कुन भवनमा पहिलोपटक आगो लागेको हो भन्ने पुष्टि हुन बाँकी रहेको बताएका छन् ।
घटनापछि आफन्तहरू कारखानाबाहिर आफ्ना बेपत्ता परिवारजनको खोजीमा रोइरहेका थिए।
बंगलादेशमा यस्ता ठूला आगलागीहरू सामान्यजस्तै हुने गरेका छन्। कमजोर पूर्वाधार र सुरक्षा मापदण्डको अभावका कारण पछिल्ला वर्षहरूमा सयौँ मानिसले आगलागीमा ज्यान गुमाएका छन्।