राजश्थान । भारत राजस्थानको जैसलमेरमा बस दुर्घटना हुँदा कम्तीमा २० यात्रुको मृत्यु भएको छ । जैसलमेरबाट जोधपुर जाँदै गरेको बसमा अचानक आगलागी भएपछि दुर्घटना भएको हो । बसबाट १९ शव निकालिएको र जोधपुर पठाइएका एक घाइतेको पनि उपचारका क्रममा मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘राजस्थानको जैसलमेरमा भएको दुर्घटना हुँदा म अत्यन्त दुःखी छु । म घाइतेहरू चाँडै निको होऊन् भन्ने कामना गर्दछु।’
प्रधानमन्त्री मोदीले प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन् ।
मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा बस पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीमा घाइते भएकाहरूलाई प्रारम्भिक उपचारपछि जैसलमेरबाट जोधपुर रिफर गरिएको छ ।