-डा. जीवन क्षेत्री ।
टासी ल्हाजोमका नाममा जेजस्ता विवाद आएका छन्, तिनले एउटा पुरानो घटना याद दिलाए । २०७४ सालतिरको कुरा हो । हामी शे–फोक्सुण्डो ताल जाँदै थियौं । ताल पुग्नुभन्दा एक–डेढ घण्टा अगाडि हामी एउटा गोठजस्तो पसलमा पसेर चिया अर्डर गर्यौं । हामीले पर्खंदै गर्दा एक बर्दीधारी प्रहरी आए र चुरीफुरी गर्न थाले । तिनले पसलमा विना अनुमति यताउता हात लगेर सामान निकाल्दै खाँदै गर्न थाले । अनि पसले दिदीलाई ‘तँ’ ‘भोटिनी’ भनेर हेपेर बोल्न थाले ।
नेपालमा मधेसीबाहेक अरु समुदायको कसैलाई त्यसरी हेपेको हामीले देखेका थिएनौं । उनको व्यवहार कुनै सम्राटको सेनाले उपनिवेशको रैतीलाई गर्ने व्यवहारभन्दा कम अपमानजनक थिएन । त्यत्रो अपमान हुन्जेल त्यहाँकी रैथाने दिदीले एकपल्ट पनि प्रहरीको मुख हेर्न वा आँखा जुधाउन सकिनन् । न प्रहरीले खाएका सामानको पैसा दिएको नै हामीले देख्यौं । त्यसबाट त्यहाँ हामी नभएको भए अझ थप दुव्र्यवहार पो हुँदो रहेछ कि भन्ने ननिको शंका लिएर अमिलो मन पार्दै हामी उकालो लाग्यौं ।
त्यही प्रहरीले यदि बर्दी उतार्यो भने ऊ साक्षात् ज्ञानेन्द्र शाही देखिन्छ भन्ने मलाई लाग्छ । खास गरी पञ्चायतले स्थापित गरेको नेपाली राष्ट्रवादको मानकमा एक भाषा, एक भेष, एक धर्म र एकाध जातबाहेक अरुलाई ठाउँ छैन ।
तथाकथित नेपाली राष्ट्रवादको एउटा विरोधाभास चाहिं के हो भने एक जनाले अर्को देशको एनजिओको झण्डा छतमा राख्छ, शहरभरि फर्फराउँछ, उताबाट पैसा र मान्छे ओसारेर यहाँ साम्प्रदायिक दंगा गराउँछ, धनजनको क्षति गराउँछ, ऊचाहिं उग्रै राष्ट्रवादी हुन्छ । यो देशमा बर्माको जस्तो नरसंहार गराउँछु, लाखौं मानिस मार्छु भन्ने धम्की दिन्छ, ऊ राष्ट्रवादी हुन्छ ।
अर्कोले चीनको स्वार्थका लागि नेपालले बलिदानी गर्नुपर्छ, पर्यो भने हामी भोकै पनि बस्नुपर्छ तर चीनको भलाइमा आँच आउन दिनु हुँदैन भन्छ, ऊ पनि राष्ट्रवादी नै हुन्छ । महेन्द्रको नेपालभित्र अटाउनेले मध्यरातमा अर्को देशको जासुससँग चोचोमोचो मिलाएर भोलिदेखि उसको स्वार्थ अनुसार बोल्छ तर ऊ राष्ट्रवादी नै रहन्छ । उसैको पार्टीका नेताका घर घर कुदेर अर्को देशकी राजदूतले पार्टीलाई दिशानिर्देश गर्छिन्, अर्को देशको सत्ताधारी पार्टीले खुलेआम यताको पार्टीलाई अह्रनखटन गर्छ, तैपनि सबै राष्ट्रवादी नै हुन्छन् ।
तर कुनै युवाले अर्को देशको संशाधन प्रयोग गरेर सूचनाको हक वा नेतृत्व विकासजस्ता कुनै तालिम गरे भने ती राष्ट्रघाती गद्धार भइहाल्छन् । ती त्यही देशको स्वार्थमा काम गर्न थालिहाल्छन् । कुनै नेपाली संलग्न प्यानलमा रहेको अर्को कुनै व्यक्तिले स्वतन्त्र तिब्बतको पैरवी गर्छ भने त्यो नेपाली अछुत भइहाल्छ ।
यहाँ विषय कुन व्यक्ति सत्तामा पुग्ने वा नपुग्नेभन्दा धेरै गहिरो छ । आधारभूत रुपमा यहाँ दुई प्रश्न छन् ।
एक, नेपाली को हो ? महेन्द्रले स्थापना गरेको साँघुरो नश्लीय नेपाली राष्ट्रियता मान्ने कि फराकिलो भविष्यमुखी नेपाली राष्ट्रियता विकास गर्ने ?
दुई, कसलाई कतिसम्म सोच्ने अधिकार छ ? अहिले हाम्रा दुवै छिमेकीहरु नागरिकहरुका बोलाइ र लेखाइमा डरलाग्दो सेन्सरसीप लगाइसकेपछि अब सोचाइ सेन्सर गर्ने चरणमा पुगिसकेका छन् । ‘तिब्बत समर्थकको छेउमा वा एउटै प्यानलमा बसेपछि उनीहरुको विचार कतै तिमीतिर सर्यो कि त ? यदि हो भने तिमी मानिसको दर्जाबाट तल खसिसक्यौ’ यो चिनियाँ कम्युनिस्ट पार्टीको लाइन हो । त्यही लाइन आज नेपालका उग्रराष्ट्रवादी हौं भन्नेहरुले रटिरहेका छन् । मेरो विचारमा अहिलेका आधारभूत प्रश्न यी हुन् । यो मुद्दामा जोडिएका बाँकी कुराहरु तपसिलका विषय हुन् ।