इजरायलद्वारा ट्रम्पलाई संसद् सम्बोधनको निमन्त्रणा, ‘आधुनिक इतिहासमा यहुदी जनताको सबैभन्दा ठूलो मित्र’ भनेर सम्मान

तेल अभिव (इजरायल) । इजरायलको संसद् (नेसेट) का अध्यक्ष अमिर ओहानाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नेसेटमा सम्बोधन गर्न औपचारिक रूपमा आमन्त्रित गर्दै उनलाई ‘आधुनिक इतिहासमा यहुदी जनताको सबैभन्दा ठूलो मित्र र सहयोगी’ को उपाधि दिएका छन् ।

ओहानाले बिहीबार साझा गर्नुभएको पत्रमा ट्रम्पको नेतृत्व र दृष्टिकोणको प्रशंसा गर्दै अक्टोबर ७ मा हमासद्वारा अपहरण गरिएका सबै इजरायली बन्धकहरूको रिहाइ सुनिश्चित गर्ने सम्झौतामा मात्र नभई, मध्यपूर्वका अधिकांश राष्ट्रहरूले स्वीकार गरेको अभूतपूर्व क्षेत्रीय समझदारीमा पनि ट्रम्पको भूमिकाले निर्णायक मोड ल्याएको उल्लेख गरेका छन् ।

उनले पत्रमा लेखेका छन्, “इजरायलका जनताले राष्ट्रपति ट्रम्पलाई आधुनिक इतिहासमा यहुदी राष्ट्रका सबैभन्दा ठूला मित्र र सहयोगीका रूपमा हेर्छन् । त्यसैले, नेसेटअगाडि राष्ट्रलाई सम्बोधन गर्न उहाँलाई आमन्त्रित गर्नु मेरो गहिरो सम्मान र सौभाग्य हो ।”

पत्रमा थप भनिएको छ, “यदि राष्ट्रपति ट्रम्पले यो निमन्त्रण स्वीकार गर्नुभयो भने उहाँको भाषण सन् २००८ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु. बुसको भ्रमणपछि नेसेटमा बोल्ने पहिलो अमेरिकी राष्ट्रपतिको हुनेछ । यो अवसर इजरायल राज्य र संयुक्त राज्य अमेरिकाबीचको अटुट मित्रता र साझा मूल्यहरूको गहिरो प्रतीक हुनेछ । इजरायल ‘शान्तिका राष्ट्रपति’ को प्रतीक्षामा छ ।”

ओहानाले ट्रम्पको इजरायलप्रतिको स्थायी समर्थनका लागि विभिन्न ऐतिहासिक कदमहरूको पनि प्रशंसा गरेका छन् । उनले लेखेका छन्, “जेरुसेलमलाई हाम्रो अनन्त राजधानीका रूपमा मान्यता दिनु र त्यहाँ अमेरिकी दूतावास सार्नु, गोलान हाइट्समाथि हाम्रो सार्वभौमिकता स्वीकार गर्नु, ऐतिहासिक अब्राहम सम्झौता निर्माण गर्नु र इरानका आणविक केन्द्रहरूमा रोक लगाउनु — यी सबै कदमहरूले ट्रम्पको नेतृत्वमा अमेरिका केवल सैन्य शक्तिमा मात्र होइन, नैतिक शक्तिमा पनि अग्रणी रहेको प्रमाणित गरेको छ । शान्ति सधैँ बलबाट आउँछ भन्ने सत्य उहाँले देखाउनुभएको छ ।”

ओहानाले पत्रमा लेखेका छन्, “यो विजय बहादुर इजरायली सैनिकहरूको बलिदान, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अडान र राष्ट्रपति ट्रम्पले जीवनभर बनाएको घनिष्ठ साझेदारीबिना सम्भव हुने थिएन ।”

यसैबीच, अमेरिकी मध्यस्थतामा भएको गाजा युद्धविराम सम्झौताका पहिलो चरणका सर्तहरू कार्यान्वयनमा आइसकेको इजरायली सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । जेरुसेलममा भएको सरकारी बैठकमा राष्ट्रपति ट्रम्पका मध्यपूर्व विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ जारेड कुसनर पनि उपस्थित थिए । सो बैठकमा सरकारले युद्धविराम सम्झौतामाथि मतदान गरी त्यसलाई स्वीकृति दिएको थियो ।

इजरायलले ट्रम्पको सक्रिय मध्यस्थता र शान्ति प्रक्रियामा निभाएको भूमिकालाई ‘ऐतिहासिक’ भनेको छ र उहाँको भ्रमणले दुई देशबीचको रणनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *