काठमाडौं । नेपाल सरकार र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी दुई महत्वपूर्ण सम्झौताहरुमा हस्ताक्षर भएको छ ।
बुधबार नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरेका हुन् ।
यी सम्झौताहरुले नेपालको उर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको छ । वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले ‘पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ कार्यक्रम’ मा सहयोगस्वरूप २० मिलियन युरोसम्मको प्रतिबद्धता जनाएको छ ।
यो परियोजना नेपालको विद्युतीय वितरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुनेछ, जसले देशभरि भरपर्दो र प्रभावकारी विद्युत सेवा सुनिश्चित गर्नेछ । यो परियोजना नेपाल विद्युत प्राधिकरणमार्फत कार्यान्वयन गरिनेछ र त्यसका लागि नेपाल विद्युत प्राधिकरण र जर्मन विकास बैंकबीच कार्यान्वयन सम्झौता पनि हुने छ ।
यो सम्झौताको कार्यान्वयन पाँच वर्ष भित्र अर्थात ५ सेप्टेम्बर २०२९ सम्ममा सम्पन्न हुनुपर्ने उल्लेख गरिएको छ । प्राविधिक सहयोग सम्झौता सन् १९७४ मा हस्ताक्षर गरिएको दीर्घकालीन ढाँचागत सम्झौता र सन् २००९ मा संशोधित सम्झौतामा आधारित रहेको छ ।
यसअन्तर्गत २१ मिलियन युरोसम्मको अनुमानित प्रतिबद्धता सहित जर्मनीले निम्न क्षेत्रमा सहयोग पुर्याउनेछ । प्राविधिक सहायता सम्झौताको कार्यान्वयन समेत पाँच वर्ष भित्र अर्थात् ५ सेप्टेम्बर २०२९ सम्ममा सम्पन्न हुने उल्लेख गरिएको छ ।
अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले जर्मनीको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै यी सम्झौताहरूले नेपाल–जर्मनी सम्बन्धको प्रगाढता र स्थायित्वलाई प्रतिबिम्बित गर्ने र समावेशी तथा दिगो विकासप्रतिको साझा प्रतिबद्धता दर्शाउने बताएका छन् ।