अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

काठमाडौं । नेपालले मलेसियाविरुद्धको टी-२० आई सिरिज जितेको छ । बुधबार बिहान भएको अन्तिम तथा पाँचौ खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपालले ३-२ ले सिरिज जितेको हो ।

जितको लागि १ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपालको लागि रुवी पोद्दरले सर्वाधिक २६ रन बनाइन् । यस्तै पुजा महतोले २३, रुविना क्षेत्रीले नटआउट १५, कविता कुवँरले १४ र सम्झना खड्काले १३ रनको योगदान गरिन् ।

मलेसियाको लागि ऐना हामिजाह हाशिम, नुर डानिया स्युहादा, ऐसया एलिसा फिर्दौज, माहिराह इज्जाती इस्माइल र नुर अल्या बार्रिसियाले समान एक/एक विकेट लिइन् ।

यसअघि बायुमास क्रिकेट ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३ रन जोडेको थियो । मलेसियाको लागि विनिफ्रेड डुराइसिन्गमले ४०, माहिराह इज्जातीले १९, हामिजाह हशिमले १५ र नुर डानीया सुहादाले ११ र जोडिन् ।

नेपालको लागि कविता कुँवर र राजमती एरीले समान तीन/तीन विकेट लिँदा रचना चौधरीले एक विकेट लिइन् ।

यसअघि दुई टोलीबीच भएको पहिलो र तेस्रो खेलमा मलेसिया तीन र १३ रनले विजयी भएको थियो भने दोस्रो र तेस्रो खेलमा नेपाल समान ६ विकेटले विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *