गाजामा बन्धकको रिहाई र युद्धविराम निर्विकल्प शर्त भएको विश्व नेताहरूको भनाइ

प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमा आक्रमण गरेको दुई बर्ष पूरा भएको छ । इजरायलमा भएको हमास आक्रमणमा विभिन्न मुलुकका नागरिकसहित एक हजार २०० इजरायलीको मृत्यु भएको थियो । बदलामा इजरायलले चलाएको हमासविरोधी अभियानमा कम्तीमा ६७ हजार १६० जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीले बताएका छन् ।

इजरायल र हमासबीचको लडाईमा अत्यधिक सर्वसाधारणको मृत्यु भएपछि विश्व नेताहरूले मङ्गलबार हमासलाई इजरायली बन्धकहरूलाई रिहा गर्न आग्रह गरेका छन् भने इजरायललाई आक्रमण रोक्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बन्धकलाई तुरुन्त रिहा गर्न आफूले यसअघि गरेको अपिल दोहोर्याएका छन् ।

“सबैका लागि पीडा अन्त्य गर्नुहोस् । गाजा, इजरायल र यस क्षेत्रमा अहिले शत्रुताको अन्त्य गर्नुहोस्। नागरिकहरूलाई उनीहरूको जीवन र सुन्दर भविष्यको साथ दिन विताउन वातावरण सुनिश्चित गराउनुहोस् । “दुई वर्षको आघात पछि अब हामीले आशा रोज्नु पर्छ,” उनले भने ।

इजरायलको विदेश मन्त्रालयले भनेको छ, “दुई वर्ष पहिले आजकै दिन (अक्टुबर ७) मा इजरायलले आफ्नो इतिहासको सबैभन्दा कालो दिनको सामना गरेको थियो । हामी गाजामा अझै पनि बन्धकहरूको फिर्तीको लागि प्रार्थना गर्दछौँ र हामी आतङ्कवादको बिरूद्ध एकजुट छौँ।“

“यो युद्ध अन्त्य गर्न हमासलाई ध्वस्त पार्नुपर्छ,। त्यसपछिमात्र अँध्यारोमाथि ज्योति छाउनेछ,” इजरायली विदेश मन्त्रालयले एक्समा भनेको छ।

हमासले अक्टोबर ७ को आक्रमण प्यालेस्टाइनी जनताविरुद्ध इजरायलले गरेको कदमको ‘ऐतिहासिक प्रतिक्रिया’ भएको बताएको छ।

“हामी पुष्टि गर्नेछौँ, अक्टोबर ७ मा अल–अक्सामा भएको सशस्त्र प्रतिकार प्यालेस्टिनी मुद्दालाई निर्मूल पार्ने इजरायलको प्रयासविरूद्धको एक ऐतिहासिक प्रतिक्रिया थियो,” हमासका एक वरिष्ठ अधिकारी फावजी बरहौमले टेलिभिजन सम्बोधनमा भनेका छन् ।

प्यालेस्टाइन क्षेत्रमा इजरायलको आक्रमणको युरोपमा सबैभन्दा मुखर आलोचक मध्ये एक स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले हमासको आक्रमणको निन्दा गरे । साथै, उनले ‘प्यालेस्टिनी जनताको नरसंहार’ अन्त्य गर्न इजरायलसँग माग गरे ।

“यो सबै प्रकारका आतङ्कवादको कडा निन्दा दोहोर्याउने दिन हो, इजरायली बन्धकहरूको तत्काल रिहाइको लागि आह्वान गर्ने दिन हो,“ समाजवादी नेता साञ्चेजले एक्समा जारी एक सन्देशमा लेखेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले प्यालेस्टिनी जनताको नरसंहार रोक्न र मानवीय कोरिडोर खोल्न पनि उनले माग गरे ।

बेलायती प्रधानमन्त्री केइर स्टार्मरले बन्धकहरूको रिहाइको माग गर्नुका साथै ‘त्यो भयानक दिन’ को सम्झनाका लागि आयोजना गरिएको प्यालेस्टाइन समर्थक प्रदर्शनहरू अनादरपूर्ण भएको बताएका छन् ।

“यो एक देशको रूपमा हामी को हौं भन्ने होइन,“ प्रधानमन्त्रीले युद्धप्रति आक्रोश व्यक्त गर्दै बेलायती पत्रिका ‘द टाइम्स’मा लेखेका छन् ।
उनले भने, “अरूको लागि यति कम सम्मान गर्नु गैर–बेलायतीपन हो र तिनीहरूमध्ये केहीले फेरि यहूदी मानिसहरूप्रति घृणा सुरु गर्ने निर्णय गर्नु त्योभन्दा बढी हो।”

जर्मन चान्सलर फ्रेडरिक मर्जले ‘सबै बन्धकहरूलाई तुरुन्त रिहा गरिनुपर्ने’ जोड दिँदै देशमा ‘यहूदी विरोधीको नयाँ लहर’ को चेतावनी दिए ।

मर्जले भने, “युद्धपछिको पुस्ताको एक भागको रूपमा जुन ‘फेरि कहिल्यै नहुने’ प्रतिज्ञाको साथ हुर्केको छ, म गम्भीररूपमा चिन्तित छु।”

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले सबै बन्धकहरूको रिहाई र युद्धविराम ढिला नगरी गरिनुपर्ने बताए ।
उनले भने, “यस्तो घृणित काम फेरि कहिल्यै हुनु हुँदैन। हामी जताततै यहूदी विरोधीवादसँग लड्न र शान्ति निर्माण गर्न हाम्रो सबै शक्ति एकजुट गरौं ।”

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले हमासले गरेको अत्याचारलाई कहिल्यै बिर्सन नहुने बताए ।

उनले भने, “अष्ट्रेलिया सरकार पनि विश्वभरका यहुदी जनताको साथमा उभिएको छ, जसले कुनै पनि यहूदी विरोधीको कार्यमा इतिहासको सबैभन्दा कालो अध्यायको चिसो छाया महसुस गर्छन्।”

इटालीकी अति दक्षिणपन्थी प्रधानमन्त्री जर्जिया मेलोनीले सन् २०२३ अक्टोबर ७ लाई ’इतिहासकै सबैभन्दा कालो दिनमध्येको एक’ बताइन् ।

गाजामा लडाकुहरूले २५१ जनालाई बन्धक बनाएका थिए, जसमध्ये ४७ जना अझै बन्धक छन् तर त्यसमध्ये २५ जनाको मृत्यु भएको इजरायली सेनाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *