बीबीसी । यसवर्षको भौतिकशास्त्रतर्फ क्वान्टम मेकानिक्ससम्बन्धी अनुसन्धानका लागि तीन अमेरिकी वैज्ञानिकले संयुक्त रूपमा नोबेल पुरस्कार पाउने भएका छन् ।
‘म्याक्रोस्कोपिक क्वान्टम मेकानिकल टनलिङ’ पत्ता लगाएकाले जोन क्लार्क, मिशेल एच डेभोरेट र जोन एम मार्टिनिसलाई उक्त पुरस्कार दिन लागिएको नोबेल समितिले घोषणा गरेको हो ।
नोबेल समितिका अनुसार सन् १९०१ देखि भौतिकशास्त्रतर्फ अहिलेसम्म ११९ पटक गरी कुल २२९ जनालाई नोबेल पुरस्कार दिइएको छ । भौतिकशास्त्रतर्फको पुरस्कार स्टक्होमस्थित रोयल स्वीडिश अक्याडमी अफ साइन्सेसले प्रदान गर्छ।
विजेताहरूले संयुक्त रूपमा १.१ करोड स्वीडिश क्रोनर (८.७० लाख पाउन्ड) नगद पुरस्कार र पदक पाउने छन् । यसअघि नोबेल पुरस्कार समितिले सोमबार चिकित्साशास्त्रतर्फको पुरस्कार घोषणा गरेको थियो।
सो विधामा यो वर्ष मेरी ब्रन्को, फ्रेड र्याम्स्डेल र शिमोन साकागुचीले प्रतिरोध प्रणालीसम्बन्धी खोज तथा अनुसन्धानका लागि उक्त पुरस्कार हात पार्ने भएका हुन् ।
नोबेल पुरस्कार समितिका अनुसार बुधवार रसायनशास्त्र, बिहीवार साहित्य, शुक्रवार शान्ति अनि आगामी सोमबार अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा हुने छ । समितिले विगत १२ महिनामा ‘मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका’ व्यक्तिलाई ती पुरस्कारबाट सम्मानित गर्ने गरेको छ ।
स्वीडिश व्यापारी तथा डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले पाँच विधामा पुरस्कार स्थापना गरेका थिए। उनले आफ्नो अधिकांश सम्पत्ति पुरस्कार दिने उद्देश्यसहित कोष बनाएर त्यसमा राखेका थिए ।
सन् १९६८ मा स्वीडनको केन्द्रीय ब्याङ्कले अर्थशास्त्रका लागि छुट्टै पुरस्कार स्थापना गरेपछि अहिले कुल छ विधामा पुरस्कार दिइन्छ । नोबेल पुरस्कार सबैभन्दा पहिले सन् १९०१ मा प्रदान गरिएको थियो।