काठमाडौँ । अविरल वर्षाका कारण मुलुकका विभिन्न राजमार्गमा क्षति पुग्न गई सवारी आवागमन अवरुद्ध भएको छ । मौसम क्रमशः खुल्दै गए पनि पृथ्वी लोकमार्गको जवाङखोला सडकमा माथिबाट पहिरो खस्न जाँदा पूर्णरुपमा बन्द भएको छभने उक्त सडकखण्डमा सवारी आवागमन होल्ड गरिएको छ ।
जोखिम हुनसक्ने भएकाले सरकारले लामो दूरीका सवारीसाधन र रातिको समयमा आवागमनलाई यही असोज २० गतेसम्मका लागि रोकेको थियो । आज मौसम खुलेको र बाढीपहिरोले अवरोध नभएका सडकमा सवारीसाधन खुलाउन पहल भइरहको छ ।
प्रहरी प्रधान कार्यालयमा सङ्कलित आज बिहान ९ः३० बजेसम्मको विवरणानुसार काठमाडौँको चन्द्रागिरि नगरपालिकाबाट विभिन्न नाका हुँदै धादिङ र मकवानपुर हुँदै बाहिरिने नागढुङ्गा, गोदाम, टखेल हँुदै जाने सडक खण्ड अर्काे आदेश नभएसम्मका लागि दुवै तर्फका सवारीसाधन होल्ड गरिएको छ ।
नारायणगढ मुग्लिङ सडक खण्डमा पहिरो खसी एकतर्फी बाटो अवरोध भएको छ । चितवनको नाम्चेखोला र तुइनखोलास्थित नारायणगढ मुग्लिङ सडक खण्डमा माथिबाट पहिरो खसी बाटो एकतर्फी अवरोध भएको छ । काभ्रेको बिपी र अरनिको राजमार्गमा धुलिखेलदेखि दोलालघाट काभ्रेबाट सिन्धुपाल्चोकको सिमानासम्म दुवैतर्फी सवारीसाधन अनिश्चित समयका लागि होल्ड गरिएको छ ।
रसुवाको रसुवागढीमा बाढी आई नेपाल र चीन नाका जोड्ने पुलमा क्षति भई सवारीसाधन आवतजावत बन्द भएको छ । रसुवाकै घट्टेखोला, बालुवाखानी र तातोपानीस्थित पासाङल्हामु सडक खण्डमा सडक माथिबाट ढुङ्गासहित सुक्खा पहिरोका कारण बाटो अवरुद्ध भएको छ । सङ्खुवासभाका वरुणखोलास्थित कोशी राजमार्ग र खाँदबारीदेखि किमाथाङ्का तथा थुमसुर जाने कोशी राजमार्ग पूर्णरुपमा अवरोध भएको छ । अरनिको राजमार्गमा चारकिलोस्थित सडक भाँसिन गई अवरुद्ध भएको छ ।
ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग, मकवानपुरको महालक्ष्मी खोलास्थित फाखेल हुमाने काठमाडाँै सडकखण्ड अवरोध हुन पुगेको छ । कान्तिलोकपथ र कुलेखानी सिस्नेरी–दक्षिणकाली–काठमाडाँै सडकखण्ड दुईतर्फी अवरोध भएको छ ।
यस्तै सिन्धुलीको सिन्दुरे दोभानस्थित मदन भण्डारी राजमार्गमा पहिरो गई बाटो अवरोध भएको छ । धनकुटाको साँगुरीगढीस्थित कोशी लोकमार्गको चनौटे र सिमसुवा गरी तीन ठाउँमा बाटो अवरोध भएको छ ।