राष्ट्रपति ट्रम्पद्वारा देशभित्रै ‘आक्रमण’ हुने चेतावनी, खतरनाक सहरहरूलाई सैन्य प्रशिक्षण मैदान बनाउन सुझाव

अमेरिका ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमै ‘आक्रमण’ हुने सम्भावनाबारे चेतावनी दिएका छन्। उनले यस्तो खतरालाई विदेशी शत्रुभन्दा पनि गाह्रो भन्दै चिन्ता व्यक्त गरेका छन्।

भर्जिनियाको क्वान्टिकोस्थित मरीन कर्प्स बेसमा मंगलबार शीर्ष अमेरिकी सैन्य अधिकारीलाई सम्बोधन गर्दै ट्रम्पले भित्री सहरहरूलाई मुख्य सुरक्षा चुनौतीको रूपमा चित्रण गरे। उनका अनुसार यस्ता शत्रुहरू वर्दी नलगाउने भएकाले पहिचान गर्न कठिन हुन्छ।

राष्ट्रपतिले रक्षामन्त्री पिट हेग्सेथलाई असुरक्षित अमेरिकी सहरहरूलाई सैन्य तथा नेसनल गार्डको प्रशिक्षण मैदानका रूपमा प्रयोग गर्न सुझाव दिएका छन्।

“हाम्रा भित्री सहरहरू अहिले युद्धक्षेत्र जस्तै बनेका छन्। मैले पिटलाई भनेँ, यी खतरनाक सहरहरूलाई हामीले हाम्रो सेना र नेसनल गार्डको प्रशिक्षण स्थल बनाउनुपर्छ। हामी चाँडै शिकागो जाँदैछौँ,” ट्रम्पले भने।

ट्रम्पले विशेषगरी सान फ्रान्सिस्को, शिकागो, न्युयोर्क र लस एन्जलसलाई ‘असुरक्षित’ सहरको रूपमा उल्लेख गर्दै तीलाई एक–एक गरेर समाधान गर्ने प्रतिबद्धता जनाए।

“यो हाम्रो लागि एउटा प्रमुख युद्ध हो र यो बाहिरबाट होइन, भित्रैबाट हुने युद्ध हो,” उनले जोड दिए।

यसअघि, सेप्टेम्बर २१ मा ट्रम्पले वासिङ्टन डिसीमा अपराध दर उल्लेखनीय रूपमा घटेको दाबी गरेका थिए। उनले सो क्षेत्रमा देखिएको सुधारलाई आफ्नो प्रशासनको ‘कडा नीति र सुशासन’ को परिणाम भएको बताए।

यसैबीच, प्रशासनले अपराध नियन्त्रण र आप्रवासन दमन योजनाअन्तर्गत शिकागोमा नेसनल गार्ड तैनाथ गर्ने तयारी गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *