आयोगको निष्पक्षतामाथि एलाइन्सले उठायो प्रश्न

काठमाडौं । मानवअधिकार एलाइन्सले जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा भौतिक एवम् मानवीय क्षतिको निष्पक्ष छानबिनका लागि जाँचबुझ आयोग गठन पूर्वनै आयोगका अध्यक्ष गौरी बहादुर कार्कीद्वारा अभिव्यक्त गरिएको भनिएका सार्वजनिक धारणाहरूले आयोगको निष्पक्षतामाथि नै गम्भीर प्रश्न खडा गरेको जनाएको छ ।

मंगलबार विज्ञप्ति जारी गरी एलाइन्सले आयोगको निष्पक्षतामाथि प्रश्न उठेको जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘२०८२ भाद्र २३ र २४ गते जेन्जी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा भौतिक एवम् मानवीय क्षतिको निष्पक्ष छानविनका लागि जाँचबुझ आयोग गठन पूर्व नै आयोगका अध्यक्षद्वारा अभिव्यक्त गरिएको भनिएका सार्वजनिक धारणाहरूले आयोगको निष्पक्षतामाथि नै गम्भीर प्रश्न खडा गरेको हुँदा मानवअधिकार एलाइन्स आयोगको निष्पक्षता सुनिश्चित गर्न नेपाल सरकार र सम्बद्ध सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदछ ।’

यस्तै एलाइन्सले आन्दोलनका क्रममा भएको भौतिक एवम् मानवीय क्षतिको निष्पक्ष छानबिनका लागि जाँचबुझ आयोग गठन गरिएको र आयोगका प्रतिवेदन प्राप्त नहुँदासम्म आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रहरूबाट तत्काल कारबाही अगाडि नबढाइने भनी गृह मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्तिले फौजदारी न्याय प्रणालीलाई गम्भीर रूपमा असर पार्ने, दण्डहीनता र हिंसालाई थप प्रश्रय दिने स्पष्ट संकेत देखिएको भन्दै चासो प्रकट गरेको छ ।

एलाइन्सले जेलबाट विभिन्न अपराधमा दोषी ठहर भएका व्यक्तिहरू अहिलेसम्म बाहिर नै रहेकोले शान्ति, सुरक्षाको सुनिश्चितता पूर्ण रूपमा भएको अवस्था नदेखिएको समेत बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्र यस विषम परिस्थितिमा परेका बेला मानवअधिकारको उल्लंघनका घटनाहरू बढ्दै जाने सम्भावना देखिएको हुँदा मुलुकमा मानवअधिकारको सुनिश्चितता गर्दै जेनजी पुस्ताले अघि सारेका परिवर्तनका मागहरूको सम्बोधन गर्न मानवअधिकार एलाइन्स जोडादर माग गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *