गाजामा युद्धविराम गर्न ट्रम्प–नेतान्याहू सहमत

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजाका लागि नयाँ शान्ति योजनामा सहमति गरेका छन् । योजनाअनुसार ७२ घण्टा भित्र सैन्य कारबाही रोक्ने र हमासले २० जीवित बन्धकसहित मृत्यु भएको ठानिएका बन्धकहरूको शव फिर्ता गर्ने प्रस्ताव छ ।

यसको बदलामा सयौँ प्यालेष्टिनी बन्दीलाई रिहा गरिनेछ । ह्वाइट हाउसको २० बुँदे प्रस्तावमा हमासलाई गाजाको शासनमा कुनै भूमिका नदिने प्रावधान राखिएको छ। प्रस्ताव कार्यान्वयन भए लगत्तै गाजामा पूर्ण मानवीय सहायता पठाइने र चरणबद्ध रूपमा इजरायली फौज फिर्ता गरिने उल्लेख छ ।

ट्रम्पले यसलाई ‘शान्तिको ऐतिहासिक दिन’ भनेका छन् भने नेतान्याहूले योजना अस्वीकार भए इजरायलले ‘काम पूरा गर्ने’ चेतावनी दिएका छन् । इजरायलका प्रधानमन्त्री नेतन्याहुले भने, ’यदि हमासले प्रस्ताव मानेन भने इजरायलले आफ्नो काम पूरा गर्नेछ ।’

७ अक्टोबर सन् २०२३ मा हमासले दक्षिण इजरायलमा आक्रमण गर्दा १ हजार २ सय जनाको मृत्यु भएको थियो । २ सय ५१ जनालाई हमासले अपहरण गरेको थियो । त्यसयता इजरायली आक्रमणमा गाजामा कम्तीमा ६६ हजार ५५ जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ट्रम्प र नेतन्याहुबीचको सहमतिले गाजामा युद्धविराम हुने सम्भावना बढाएको छ । हमासले प्रस्ताव स्वीकार गरेमा अपहरणमा परेकाहरू मुक्त हुनेछन् । नेपालका विपिन जोशी पनि हमासको अपहरणमा परेका छन् । तर उनको अवस्था अहिलेसम्म अज्ञात छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *