वेस्ट इन्डिजविरुद्धको एतिहासिक सिरिज नेपाललाई

काठमाडौं ।  युएईमा वेस्ट इन्डिजविरुद्ध भएको टी-२० आई सिरिजको  उपाधि नेपालले जितेको छ । सोमबार राति सम्पन्न दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले हराउँदै नेपालले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको हो ।

जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज १७.१ ओभरमा अलआउट हुँदै ८३ रनमा समेटिएको हो । वेस्ट इन्डिजको लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाउँदा अकिम अगस्टले १७ र अमिर जान्गोले १६ रन बनाए । वेस्ट इन्डिजका अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

वेस्ट इन्डिजलाई सस्तैमा समेट्न नेपालको लागि मोहम्मद आदील अलामले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए । यस्तै कुशल भुर्तेलले २.१ ओभरमा एक मेडन राख्दै १६ रन दिएर ३ विकेट लिँदा दीपेन्द्र सिंह एरी, करण केसी र ललित राजवंशीको नाममा एक/एक विकेट रह्यो ।

यसअघि युएईस्थित शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो । नेपालको लागि सन्दीप जोरा  र आसिफ शेखले अर्धसतक पूरा गरे । ओपनर आसिफ ४७ बलमा ६८ रन बनाउँदै नटआउट रहे । उनले ८ चौका र २ छक्का प्रहार गरे । यस्तै सन्दीपले ६३ बलमा ५ छक्का र ३ चौकाको मद्दतमा ६३ रन बनाउँदा आदिल अलामले ११, कुशल मल्लले ७, गुलसन झाले ६, कप्तान रोहित पौडेलले ३ र कुशल भुर्तेलले २ रनको योगदान गरे ।

वेस्ट इन्डिजको लागि कप्तान अकिल होसिनले ४ ओभरमा २१ रन दिएर दुई विकेट लिँदा कायल मेयर्सले दुई ओभरमा २६ रन दिएर दुई विकेट लिए ।

जितसँगै नेपालले तीन खेलको सिरिजमा २-० को अग्रता लिएको छ। यसअघि शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको थियो । अब दुई टोलीबीचको तेस्रो र अन्तिम खेल भोलि(मंगलबार) हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *