काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने सम्बन्धित भ्रामक समाचार लेखेको कान्तिपुर टिभीले माफी मागेको छ । सोमबार बिहान कान्तिपुरले उक्त समाचार पुष्टि हुन नसकेको बताउँदै माफी मागेको हो ।
शनिबार युनिटी कप अन्तर्गत वेस्ट इन्डिजविरुद्ध भएको टी-२० सिरिजको पहिलो खेल नखेलेका सन्दीपको बारेमा कान्तिपुरले भ्रामक समाचार प्रकाशित गरेको थियो । उक्त खेलको लागि १५ खेलाडीको सूचीमापनि नरहेपछि सन्दीपले राष्ट्रिय टोलीको जर्सीको मुख्य प्रायोजक नासा सेक्युरिटीस र क्यानसँगको विवादको कारण पहिलो खेल नखेलेको कान्तिपुरले समाचारमा उल्लेख गरेको थियो ।
सन्दीपले आइतबार बेलुकी सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त समाचारको पुष्टि गर्न कान्तिपुरलाई चुनौती दिएका थिए । उनले प्रायोजक कम्पनीसँग कुनै विवाद नरहेको र क्यानसँगको कुरा आफैले समाधान गर्ने बताएका थिए ।