रुसी राष्ट्रपति पुटिनद्वारा भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हालै टेलिफोनमा कुराकानी गर्दै मस्को–नयाँदिल्ली सम्बन्धको बलियो र समय–परीक्षित स्वरूपलाई पुनः दोहोर्याएका छन् ।
क्रेमलिनको आधिकारिक वेबसाइटका अनुसार पुटिनले सरकारका सदस्यहरूसँगको बैठकमा यी आदानप्रदानको विवरण सार्वजनिक गरेका हुन् ।

पुटिनले भारत–रुस सम्बन्धलाई स्थिर र ‘राष्ट्रिय सहमतिमा आधारित’ भन्दै प्रशंसा गरे । उनले प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतले शासन, नीतिगत स्वतन्त्रता र आर्थिक विकासमा गरेको उल्लेखनीय प्रगतिलाई विशेष जोड दिए ।

“प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतले पूर्ण रूपमा स्वतन्त्र र सार्वभौम नीति अपनाइरहेको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, आर्थिक क्षेत्रमा निकै राम्रो उपलब्धि हासिल गरेको छ । विश्वका प्रमुख अर्थतन्त्रहरूमध्ये भारतले हाल उच्चतम आर्थिक वृद्धि दर प्रदर्शन गरिरहेको छ”, पुटिनले भने ।

टिभी ब्रिक्सका अनुसार पुटिनले मोदीलाई ७५औँ जन्मदिनको अवसरमा बधाई टेलिग्राम पठाएपछि दुवै नेताबीच फोन वार्ता भएको हो । सन्देशमा उनले द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन मोदीले दिएको व्यक्तिगत योगदानको प्रशंसा गरेका थिए ।

“तपाईं (नरेन्द्र मोदी) ले हाम्रो विशेष विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई अझ सबल बनाउन र विभिन्न क्षेत्रमा पारस्परिक फाइदाका लागि रूसी–भारतीय सहयोग विकास गर्न ठूलो योगदान दिनुभएको छ”, पुटिनले भने ।

रुसी राष्ट्रपतिले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय एजेन्डाका सामयिक विषयहरूमा ‘रचनात्मक संवाद र संयुक्त कार्य निरन्तर जारी रहने’ विश्वास पनि व्यक्त गरे ।

विदेश मन्त्रालयले समेत रुसलाई भारतको दीर्घकालीन र विश्वसनीय साझेदारका रूपमा चित्रण गरेको छ । भारत–रुस सम्बन्धलाई भारतको विदेश नीतिको प्रमुख आधार मानिन्छ । सन् २००० अक्टोबरमा राष्ट्रपति पुटिनको भ्रमणका क्रममा ‘भारत–रुस रणनीतिक साझेदारी घोषणापत्र’ मा हस्ताक्षर भएपछि द्विपक्षीय सम्बन्ध झन् सुदृढ भएको उल्लेख गरिएको छ ।

यसैबीच, भारतीय विदेशमन्त्री एस. जयशङ्करले न्युयोर्कमा संयुक्त राष्ट्र महासभा (युएनजिए) को ८०औँ सत्रको साइडलाइनमा रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन् ।

भारतस्थित रुसी दूतावासले सामाजिक सञ्जाल एक्समा ‘रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ र भारतीय विदेशमन्त्री एस. जयशङ्करले युएनजिए ८० को उच्चस्तरीय बैठकको अवसरमा भेट गरेको छ’ भनेर पुष्टि गरेको छ ।

पछि जयशङ्करले पनि आफ्नो पोस्टमार्फत लेखे, “युएनजिए ८० को साइडलाइनमा रूसका विदेशमन्त्री सर्गेई लाभरोभसँग राम्रो वार्ता भयो । द्विपक्षीय सम्बन्ध, युक्रेन द्वन्द्व र मध्यपूर्वीय घटनाक्रममा उपयोगी छलफल गरियो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *