पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका राउतलाई

कास्की । विश्व पर्यटन दिवसका अवसरमा शनिबार पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशका नरेन्द्रसिंह रावतले जितेका छन् । पोखरा–२२ स्थित विश्वशान्ति स्तुपाबाट सुरु भएको दौड पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी कालाबाङ घरेडी बुद्धपार्क पुगेर सम्पन्न भएको हो ।

राउतले निर्धारित आठ किलोमिटर दूरी ३५ मिनेट ४४ सेकेन्डमा पूरा गर्दै उपाधिसहित नगद ५० हजार, मेडल र प्रमाणपत्र पुस्कार प्राप्त गरे । सुदूरपश्चिमका करन रावल दोस्रो र कर्णालीका दलबहादुर कुँवर तेस्रो भए । करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेन्डमा र दलबहादुरले ३७ मिनेट १६ सेकेन्डमा पार गर्दै द्वितीय र तृतीय भएका निर्णायक ओमबहादुर गुरुङले जानकारी दिए । उनीहरूले क्रमशः ३० हजार र १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

गौतम श्रेष्ठ चौथो हुँदै सात हजार र पाँचौँ भएका सफल लामाले तीन हजार प्राप्त गरे । विदेशी पर्यटकतर्फ फ्रान्सका थियो डनेटले ४९ मिनेट ५१ सेकेन्डमा निर्धारित दूरी पार गरी उपाधिसहित १५ हजार पुरस्कार जिते । भेट्रान्सतर्फ गण्डकीका किशोर थापा प्रथम हुँदै १५ हजार प्राप्त गरे ।

यसैगरी पोखरा–२२ वडातर्फको प्रतिस्पर्धामा कुशल परियार प्रथम र सुजल परियार दोस्रो भए । महिलातर्फ कोशीकी पदमकुमारी सुनुवार प्रथम हुँदा बागमतीकी नीतु तामाङ द्वितीय भए । वडा र महिलातर्फ प्रथम र दोस्रो हुनेले जनही १५ हजार र सात हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत यू–१६ को विधामा प्रकाश थिङ प्रथम र तीलबहादुर परियार द्वितीय हुँदै जनही रु १५ हजार रु सात हजार पुरस्कार पाए । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालसहित आठ देशका धावकको सहभागिता थियो ।

विभिन्न छ विधामा कुल ११७ जना धावक सहभागी भएका प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । विश्व पर्यटन दिवसका अवसरमा आयोजित दौडमा निर्धारित दूरी पूरा गरेका विदेशी धावकलाई पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले माला लगाएर स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *