वेस्ट इन्डिजमाथि नेपालको एतिहासिक जित

काठमाडौं । युनिटी कप अन्तर्गत वेस्ट इन्डिजविरुद्ध भएको पहिलो टी-२० आई खेलमा नेपालले एतिहासिक जित निकालेको छ । शनिबार राति सम्पन्न पहिलो खेलमा वेस्ट इन्डिजलाई १९ रनले हराउँदै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको हो । यससँगै नेपालले आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई पहिलोपटक हराएको छ ।

जितको लागि १ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजको लागि नविन विदेशीले सर्वाधिक २२ रन बनाउँदा अमिर जान्गो  र फाबियन अलिनले समान १९/१९ रन बनाए । यस्तै अकिल होसिनले १८, केसी कार्टीले १६ र अकिम अगस्टले १५ रन बनाए ।

नेपालको लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन दिएर दुई विकेट लिए । यस्तै दीपेन्द्र सिंह एरी, करण केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलको नाममा समान एक/एक विकेट रह्यो ।

यसअघि शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो । नेपालको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३५ ओभरमा ३ चौका र एक छक्का प्रहार गरे । यस्तै कुशल मल्लले ३०, गुलसन झाले २२ र दीपेन्द्र सिंह एरीले १७ रन बनाए ।

वेस्ट इन्डिजको लागि जेसन होल्डरले ४ ओभरमा २० रन दिएर चार विकेट लिँदा नविन विदेशीले तीन तथा अकिल होसिनले एक विकेट लिए ।

अब दुई टोलीबीचको दोस्रो टी-२० आई खेल सोमबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *