पाकिस्तान एसिया कपको फाइनलमा, उपाधिको लागि भारतसँग भिड्ने

एजेन्सी । पाकिस्तान एसीसी एसिया कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम चारको आफ्नो अन्तिम खेलमा बंगलादेशलाई ११ रनले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो ।

जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २४ रनमात्र बनाउन सक्यो । बंगलादेशको लागि शमिम होसाइनले सर्वाधिक ३० रन बनाउँदा नुरुल हसन र रशिद होसाइनले १६/१६ रन बनाए ।

पाकिस्तानको लागि शाहिन शाह अफ्रिदी र हारिस रौफले समान तीन/तीन विकेट लिँदा सिम अयुबले दुई र मोहम्मद नवाजले एक विकेट लिए ।

यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो । पाकिस्तानको लागि मोहम्मद हारिसले ३१, मोहम्मद नवाजले २५ तथा सलमान अघा र शाहिन शाह अफ्रिदीले समान १९/१९ रन बनाए ।

बंगलादेशको लागि टास्किन अहमदले तीन तथा महेदी हसन र रशिद होसाइनले दुई/दुई विकेट लिए । मुस्ताफिजुर रहमानको नाममा एक विकेट रह्यो ।

जितसँगै पाकिस्तान ३ खेलबाट ४ अंक जोड्दै सुपर चारको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट २ अंक जोड्दै तेस्रो स्थानमा रहेको बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

अब पाकिस्तानले आइतबार हुने फाइनल खेलमा भारतको सामना गर्नेछ । भारत र पाकिस्तान पहिलोपटक फाइनलमा भिड्ने भएका हुन् । यसअघि भारतले आज हुने सुपर चारको अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *