एजेन्सी । एसीसी एसिया कप-२०२५ अन्तर्गत भएको खेलमा भारतले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा भारतले ओमानलाई २१ रनले पराजित गरेको हो ।
जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभर ४ विकेटको क्षतिमा १ सय ६७ रनमात्र बनाउन सक्यो । ओमानको लागि अमिर कलिमले ६४, हमद मिर्जाले ५१, कप्तान जतिन्दर सिंहले ३२ र जितेन रमन्डीले १२ रन बनाए ।
भारतको लागी हार्दिक पान्ड्य, अर्शदिप सिंह, हर्षित राना र कुलदिप यादवले समान एक/एक विकेट लिए ।
यसअघि अबुधबीस्थित जायद क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको थियो । भारतको लागि सन्जु सम्सनले ५६, अभिषेक शर्माले ३८, तिलक वर्माले २९, अक्सर पटेलले २६ र हर्षित रानाले १३ रन बनाए ।
ओमानको लागि शाह फैसाल, जितें रामन्डी र अमिर कलिमले समान दुई/दुई विकेट लिए ।
जितसँगै समूह ‘ए’मा रहेको भारतले तीन खेलबाट ६ अंक जोडेको छ भने समान खेलबाट अंकविहीन ओमान चौथो स्थानमा रहेको छ ।