गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव रहेको बताएका छन् ।
संविधान दिवस-२०८२ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज पोखरामा आयोजित संविधान दिवस मूल समारोह कार्यक्रममा उनले संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा सबैले आआफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरका लागि तीनवटै तहबीच समन्वय र सहकार्य आवश्यक पर्ने बताउँदै उनले रोजगारी सिर्जना, लगानीमैत्री वातावरण, भौतिक संरचनाको पुनःनिर्माण र जनतासँग प्रत्यक्ष जोडिएका सेवाको विस्तारमा गण्डकी प्रदेश लाग्ने प्रतिबद्धता जनाए ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै गण्डकी प्रदेश र सिङ्गो मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता भएको मुख्यमन्त्रीले उल्लेख गरे । संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशील रहेको उनले बताए । लोकतान्त्रिक मूल्य मान्यता र प्रक्रियालाई सुदृढ बनाउन हामी सबै जिम्मेवार बन्न आवश्यक रहेकामा उनले जोड दिए ।
गत भदौ २३ र २४ गते देशका विभिन्न ठाउँमा जेनजीद्वारा गरिएको प्रदर्शनले नयाँ पुस्ताको आकाङ्क्षा र परिवर्तनको चाहनालाई प्रष्ट पारेको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे । उनले यस क्रममा सहादत प्राप्त गर्नुभएका युवा पुस्ता र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकूल परिवारमा गहिरो समवेदना व्यक्त गरे । प्रदर्शनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले घटनाको न्यायपूर्ण छानबिन, दोषीमाथि कारबाही र पीडितहरूको न्याय सुनिश्चित गर्ने दिशामा आवश्यक पहल गर्न सबैसँग अनुरोध गरे ।
“जेनजी पुस्ताले उठाएका विषय सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति यी हाम्रो साझा लक्ष्य हुन् र सामूहिक जिम्मेवारी पनि हो”, उनले भने, “पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी प्राप्त उपलब्धिमाथि प्रहार गर्ने, नकारात्मक सोचलाई स्थापित गर्ने गरी गलत भाष्य निर्माण गरिएकोतर्फ सचेत रहँदै सकारात्मक सोच राखेर थप उपलब्धि हासिल गर्ने दिशामा अघि बढ्न विषेशत युवा पुस्तालाई म अनुरोध गर्दछु ।”
सुशासन कायम गर्ने विषयमा गण्डकी प्रदेश दृढ रहेको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे । उनले प्रदेश सरकारले ‘राईड शेयरिङ’मार्फत युवालाई रोजगारी सिर्जना गर्ने, चालु खर्च कटौती, कार्यालय समायोजन, दरबन्दी कटौती र व्यवस्थापनमार्फत शुसासन कायम गर्दै मितव्ययी शासन प्रणालीलाई अङ्गिकार गर्दै आएको बताए । आफूँहरूले सुरु गरेका यी पहलहरू केवल प्रशासन सुधारका लागि मात्र नभएर युवा पुस्ताको आशा र विश्वास पूरा गर्न, प्रदेशको समुन्नतिका लागि अत्यावश्यक रहेको उनको भनाइ छ ।
प्रदेशका सभामुख कृष्णप्रसाद धितालले संविधान दिवसलाई राष्ट्रिय रूपमा मनाउँदै संविधानलाई कसरी वैज्ञानिक बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताए । युवा पुस्ताद्वारा गरिएको प्रदर्शनपछि दलहरूलाई सचेत बनाएको बताउँदै उहाँले युवाका जायज मागलाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आधारशीला वर्तमान संविधान भएको बताउँदै उनले यसलाई संरक्षण, सम्बर्द्धन र सुदृढीकरण गर्नुपर्नेमा जोड दिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले जेनजी पुस्ताको माग समयमा सुनुवाई नहुँदा यस्तो अवस्था सिर्जना भएको बताए । प्रदर्शनका क्रममा जनधनको क्षति हुनु संवैधानिक क्रियाकलाप विपरीत भएको बताउँदै उनले यसले समाज र राष्ट्रलाई ठूलो क्षति पुर्याएको धारणा राखे ।
प्रदेशसभाको प्रमुख प्रतिपक्षी दलका नेता हरिबहादुर चुमानले बलिदानीपूर्ण सङ्घर्षबाट बनेको वर्तमान संविधानको संरक्षणमा सबै जुट्नुपर्ने आवश्यकता औँल्याए । भ्रष्टाचार नियन्त्रणमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै उहाँले जेनजी पुस्ताले प्रदर्शनका क्रममा उठाएका प्रमुख मुद्दा पनि यही रहेको बताए ।
