निर्वाचनमा केन्द्रित हुन नेता कार्यकर्तालाई सीके राउतको आग्रह

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले निर्वाचनमा केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । अध्यक्ष राउतले फाल्गुन २१ को निर्वाचनसम्म अन्यत्र ध्यान नभट्काउन आग्रह गरेका हुन् ।

पार्टीका नेताहरुले आफ्नो राजीनामा मागेपछि उनको भनाई आएको हो । उनले भने, ‘अन्यत्र शक्ति खेर नफालौं। पहिला निर्वाचनमा जनमत पार्टीलाई नं. १ विजयी पार्टी बनाउनेतिर लागौं । फाल्गुन २१ गतेको लागि निर्वाचनको घोषणा भइसकेको छ, सबैदलहरूले मानिसकेका छन् र तैयारीमा जुटिसकेका छन्, निर्वाचन आयोग पनि तैयारीमा जुटिसकेको छ–हामीसँग धेरै समय छैन–मुश्किलले साढे ५ महिना समय छ। दुई–तीन महिना पछि पार्टी दर्ता गर्ने र समानुपातिक सूची बुझाउने समय पनि आइसक्छ।’

उनले यस्तो समयको अभाव भएको बेलामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र भएको बताए ।

उनले भने, ‘त्यसैले अरूले जे–जस्तो गरे पनि हामीले ध्यान नदिऔं, त्यसको पछि लागेर, त्यो विषयमा छलफल बहस गरेर, पोस्ट गरेर हामी समय खेर नफालौं । हामी सबभन्दा पहिला हाम्रो लागि जुन महाभारत हो, अग्निपरीक्षा हो, त्यस निर्वाचनको तैयारीमा गाउँगाउँ टोलटोलसम्म जुटौं। नौलो गणतन्त्र नै आगामी निकास हो प्रचार गरौं, बूथ समिति र युवा दस्ता गठन गरौं, प्रशिक्षण दिऔं, परिचालन गरौं। हरेक निर्वाचन क्षेत्रमा चुनाव कसरी जित्ने त्यतातिर लागौं।’ उनले निर्वाचन पछि सबै कुराको छलफल बहस हुने बताए । उनले निर्वाचनमा पूरा मधेस कब्जा गरेर र देशकै निर्णायक शक्ति बनेर देखाउने बताए । बुधबार राउतलाई पार्टीका ६ जना नेताले २४ घण्टाभित्र पार्टी नेतृत्व छाड्न अल्टिमेटम दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *