-डा. सूर्यराज आचार्य
दश वर्ष लगाएर यो संविधान बनाइयो, तर ठिकठाकसँग बनाउन सकिएन। संविधानले के प्राप्ति गर्न खोजेको हो भन्ने कुरा न स्पष्ट थियो, न अझै छ । सकसका साथ जन्मिएको संविधानलाई सबैले शंकाको लाभ दिए । तर यसले न राजनीतिक स्थिरता दियो, न त समृद्धि र रोजगारी दिने आशा जगाउन सक्यो । हो, ठूलो समस्या राजनीतिका पात्रमा छ, तर संविधान र प्रणालीका समस्या पनि कम गम्भीर छैनन् । यो कुरा मैले सामाजिक सञ्चाल अन्य संचार माध्यमबाट निरन्तर उठाउँदै आएको पनि छु ।
संविधानमा सुधार गर्ने भनेर १४ महिना अघि सामान्यतः संसदीय व्यवस्थामा अस्वाभाविक देखिने संसदका दुई ठूला दलबीच गठबन्धन बन्यो । तर संविधान सुधारको कुनै सुरसार भएन । किनभने यही संविधानअन्तर्गत बनेको संसदले संविधान संशोधन गर्न सजिलो छैन। एक हिसाबले भन्दा, संविधान र विकृत संसदीय राजनीति एक–आपसमा ‘लक्ड–इन’ अवस्थामा छन्।
यस्तै ‘लक्ड–इन’ अवस्थाले उकुस–मुकुस बनेको नेपाली समाजमा ‘जेन–जी’ को आन्दोलन सुरु भयो । यस आन्दोलनले मुलुकले कहिल्यै नभोगेको जनधनको क्षति व्यहोर्नु पर्यो । तर यसले जब्बर जकडिएको दोहनकारी पुरानो राजनीतिलाई कम्तीमा तत्कालका लागि किनारामा पुर्याइदिएको छ । साथै, आम नेपालीले अपेक्षा गरेको सफा राजनीति र प्रभावकारी प्रणालीतर्फको आशाको ढोका खोलेको छ। यही कारण, जेन–जी पुस्ताको यो उपलब्धि नेपालका लागि ऐतिहासिक उपलब्धि बनेको छ।
यस आन्दोलनको उपलब्धिमा टेकेर अब साँच्चिकै नयाँ पुस्ता र नेपाली समाजले चाहे जस्तो सफा राजनीति र प्रभावकारी राज्य–संयन्त्रका लागि नयाँ संवैधानिक व्यवस्थातर्फ जानुपर्ने अनिवार्यता देखिएको छ । तर अर्कोतर्फ, वर्तमान संविधानलाई जसरी पनि जोगाउनुपर्ने भन्ने तर्क पनि बहसमा छ।
भ्रममा नपरौं—यदि यही संविधानभित्र अब बन्ने अन्तरिम सरकारले चुनाव गर्ने र सरकार बनाउने हो भने, फेरि पनि पुरानै प्रवृत्ति दोहोरिने छ। पुरानै विकृति देशले अब धान्न सक्दैन । त्यसैले देशको भविष्य कि मौजुदा ‘डिस्फङ्सनल’ संविधान ? यि दुवै सँगै जान नसक्ने देखिएको छ । यि दुई मध्ये नेपाली समाजले एउटा छान्नु पर्ने बाध्यता छ । यो छनौट संवैधानिक कानुनका हिसाबले सहज नहोला । संवैधानिक हिसाबले सहजबाटो हिँड्न खोज्दा मुलुक झन् असहज अवस्थामा पुग्न पनि सक्छ। संवैधानिक कानुनका विद्वानहरूले यो कुरालाई पनि मनन गर्नु पर्ने देखिन्छ । जे होस् यो विषय सिर्फ संवैधानिक कानुनको साँघुरो दायराबाट मात्र नहेरियोस् । मुलुकको दिर्घकालिन हित, नयाँ पुस्ताको समृद्ध नेपालको चाहना र विद्यामान विसंगति÷भ्रष्टाचारको सफाईका कोणबाट पनि हेरियोस् ।