दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । बेलायत सरकारले अस्थिर मानिएका ट्रम्पलाई सन्तुष्ट पार्न कुनै कसर बाँकी राखेको छैन ।

युक्रेन र मध्यपूर्वमा युद्ध जारी रहेका बेला तथा प्रमुख अर्थतन्त्रहरू अमेरिकी करसँग जुझिरहेका सन्दर्भमा बेलायतले राजतन्त्रको भव्य प्रदर्शनमार्फत ट्रम्पलाई आफ्नो पक्षमा राख्न सक्ने आशा लिएको छ ।

तर यौन अपराधी जेफ्री एपस्टेनसम्बन्धी विवाद र अभिव्यक्ति स्वतन्त्रता युद्धले प्रधानमन्त्री किर स्टार्मर र ट्रम्पबीचको बैठकमा असहज क्षण ल्याउन सक्छ ।

शाही परिवारप्रति आकर्षण राख्दै आएका ट्रम्पलाई राजा चार्ल्स तृतीयसँग गाडीको जुलुस र विन्डसर क्यासलमा आयोजित भव्य राजकीय भोजमार्फत स्वागत गरिनेछ । उनलाई लन्डन बाहिर राखिनेछ । त्यहाँ ७९ वर्षीय रिपब्लिकन राष्ट्रपति ट्रम्पविरुद्ध ठूलो प्रदर्शन आह्वान गरिएको छ ।

लेबर नेता स्टार्मर ट्रम्पका लागि स्वाभाविक राजनीतिक सहयात्री नभए पनि जनवरीमा ट्रम्प ह्वाइट हाउस फर्किएपछि सम्बन्ध मजबुत पार्न लागिपरेका छन् । “यो साँच्चिकै विशेष छ, अभूतपूर्व छ”, स्टार्मरले फेब्रुअरीमा ओभल अफिसमा ट्रम्पलाई राजकीय भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गर्दा भनेका थिए । निमन्त्रणा स्वीकार्दै ट्रम्पले चार्ल्सलाई ‘महान सज्जन’ भन्दै प्रशंसा गरेका थिए ।

डाउनिङ स्ट्रिटले ट्रम्पको व्यस्त कार्यक्रमले बेलायत–अमेरिका सम्बन्धलाई ‘अटुट मित्रता’ का नयाँ उचाइमा पुर्‍याउने बताएको छ ।

– अमेरिकी लगानी –

भ्रमणका क्रममा १० अर्ब पाउन्ड (१३ अर्ब ६० करोड डलर) बराबरका सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको छ । उक्त सम्झौताले नयाँ आणविक परियोजनाहरूलाई गति दिनेछ । बेलायती अधिकारीहरूले यसलाई ‘विश्व–अग्रणी प्राविधिक साझेदारी’ भनेका छन् ।

भ्रमण अघि गुगलले दुई वर्षमा बेलायतमा पाँच अर्ब पाउन्ड लगानी गर्ने घोषणा गरेको छ भने पेपल र सिटी ग्रुपसहितका अमेरिकी वित्तीय कम्पनीहरूले एक अर्ब २५ करोड पाउन्ड लगानी गर्ने बताएका छन् ।

स्कटिश मूलकी आमासँग जोडिएका ट्रम्पले सन् २०१९ मा दिवङ्गत महारानी एलिजाबेथ द्वितीयलाई भेटेका थिए । उनी दोस्रो पटक राजकीय भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति बन्नेछन् । बुधबार साँझ उनी पुनः राजपरिवारसँग भव्य भोजमा सहभागी हुनेछन् ।

बिहीबार भने राजनीतिक पक्ष हावी हुनेछ । चेकर्समा हुने वार्तामा बेलायतले अमेरिकी व्यापार सम्झौता सुरक्षित गर्न र ट्रम्पको कर नीतिबाट जोगिन प्रयास गर्नेछ ।

– एपस्टेन स्क्यान्डल –

भ्रमणमा युक्रेन पनि मुख्य विषय बन्नेछ । ट्रम्पमाथि पुटिनतर्फ झुकाव देखाएको आरोप लागे पनि स्टार्मरले र्किभलाई समर्थन गर्न दबाब दिइरहेका छन् । यसबीच, प्रथम महिला मेलानिया ट्रम्पले रानी क्यामिलासँग छुट्टै कार्यक्रममा भाग लिनेछन् ।

तर भव्यतालाई छायामा पार्ने विषयहरू पनि छन् । ह्वाइट हाउसले ट्रम्पले बेलायतमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा मुद्दा उठाउने बताएको छ । यो त्यही विषय हो जसमा ट्रम्पका पूर्व सहयोगी एलन मस्कले बेलायतमा अति–दक्षिणपन्थी र्‍यालीमा विवादास्पद टिप्पणी गरेका थिए । स्टार्मरका प्रवक्ताले मस्कको भाषालाई ‘खतरनाक र भड्काउने’ भनेका छन् ।

स्टार्मरलाई हालको राजनीतिक दबाबपछि सफलतापूर्वक सामना गर्न यो भ्रमण महत्त्वपूर्ण देखिएको छ । तर ट्रम्पकै एपस्टेनसँगको मित्रता र चार्ल्सका भाइ एन्ड्र्यु र एपस्टेनबीचको सम्बन्धले शाही परिवारलाई असहज बनाएको छ । यसै कारण ट्रम्प पनि गम्भीर प्रश्नको घेरामा परिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *