काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । रास्वपाको केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख सुमना श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गरी सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन माग गरेकी हुन् ।
उनले सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि नीति आधारित, प्राविधिक र कानुनी उपायहरू अवलम्बन गर्न र भविष्यमा नागरिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम नदोहोरिने स्पष्ट प्रतिबद्धता जनाउन पनि सुझाव दिएकी छन् । सामाजिक सञ्जाललाई एकैपटक बन्द गर्नु नागरिक अधिकारको प्रत्यक्ष उल्लङ्घन मात्र नभएर लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्था विपरीतको कदम भएको श्रेष्ठको भनाइ छ ।
उनले भनेकी छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी नागरिक अधिकार, डिजिटल स्वतन्त्रता र जिम्मेवार सञ्चार प्रयोगको पक्षमा सदैव दृढतापूर्वक उभिएको छ । नागरिक अधिकार कुण्ठित गर्ने गरी नेपाल सरकारले गर्ने यस्ता प्रयासप्रति हाम्रो कडा प्रतिवाद रहने छ ।’

