बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्रालयलाई युद्ध मन्त्रालयका रूपमा पहिचान दिनेगरी निर्देशन दिएका छन् । शुक्रबार उनले हस्ताक्षर गर्ने एक कार्यकारी आदेशले रक्षा मन्त्रालयलाई दोस्रो नयाँ नामको रूपमा प्रयोग गर्न रक्षामन्त्री पिट हेग्सेथलाई युद्ध मन्त्रीको रूपमा प्रयोग गर्न भन्नेछ । अमेरिकी सेना हेर्ने पेन्टागनलाई त्यसअघि युद्ध मन्त्रालय भनिन्थ्यो ।
जुन सबैभन्दा पहिले सन् १७८९ मा क्याबिनेट निकायको रूपमा स्थापित भएर सो नाममा सन् १९४७ सम्म अस्तित्वमा थियो । कार्यकारी मन्त्रालयहरू सिर्जना गर्ने जिम्मेवारी अमेरिकी कङ्ग्रेसमा छ जसको अर्थ ती मन्त्रालयको नाम कानुनतः परिवर्तन गर्न संशोधन आवश्यक पर्नेछ ।
सो आदेशले हेग्सेथलाई मन्त्रालयको स्थायी नामकरणतर्फ अघि बढ्न विधायकी र कार्यकारी कामहरू सिफारिस गर्न र समावेश गर्न पनि निर्देशन दिएको छ । ट्रम्पले कङ्ग्रेसको स्वीकृतिबिना औपचारिक रूपमा नाम परिवर्तन गर्न नसक्ने हुँदा त्यस्तो प्रक्रिया आवश्यक पर्छ । युद्ध मन्त्रालय जर्ज वाशिङ्टनले स्थापना गरेका थिए र त्यसलाई दोस्रो विश्वयुद्धपछि नयाँ नाम दिइएको थियो । उक्त कार्यकारी आदेश अनुसार पुरानै नाम बिउँताउनुले ‘हाम्रो राष्ट्रिय हितमा यस मन्त्रालयको ध्यान केन्द्रित गर्ने छ र विरोधीहरूलाई आफ्नो हितको रक्षाका लागि युद्ध गर्ने अमेरिकी तत्परतालाई सङ्केत गर्ने छ।’
स्थायी रूपमा पुनः ब्रान्डिङ गर्दाको खर्च कति हुनेछ भनेर ह्वाइटहाउसले अझै बताएको छैन । तर अमेरिकी सञ्चारमाध्यमहरूले सयौँ निकाय, निशान छाप, इमेल ठेगानाहरू, पोसाकहरू र थप अन्यको पुनर्संरचनाको लागि अर्बौँ डलर खर्च हुने ठानिएको जनाएका छन् । जसले खर्च र अनावश्यक कुरा घटाउने पेन्टागनको प्रयासलाई बाधा पुर्याउन सक्छ ।
ट्रम्पले बारम्बार नाम फेर्ने मनसाय प्रस्तुत गर्दै आएका थिए । त्यसक्रममा उनले पहिलेको नाम अन्तर्गत अमेरिकाले दुवै विश्वयुद्धमा ‘विजयको अविश्वसनीय इतिहास’ पाएको तर्क गर्ने गर्थे ।
सांसदहरूले यस्तो परिवर्तनलाई समर्थन गर्ने आशा समेत उनले व्यक्त गरेका छन् । ट्रम्प र हेग्सेथले मन्त्रालयलाई ‘युद्ध लडाई’ र ‘वारिअर इथोज’ मा पुनः केन्द्रित गर्न खोजेका छन् । उनीहरूले उक्त मन्त्रालय विविधता, समानता र समावेशीकरण कार्यक्रमहरू र ‘वोक आइडियोलोजी’ (सामाजिक अन्यायलाई महत्त्व दिने अर्थ दिने भनेर बुझिने वाक्यांश) मा धेरै केन्द्रित भएको तर्क गरेका छन् ।
यो नाम परिवर्तनसम्बन्धी यस कदम राष्ट्रपतिले पदभार ग्रहण गरेयता हस्ताक्षर गरेको २००औँ कार्यकारी आदेश हो । यस नाम परिवर्तन केही हदसम्म अपेक्षित भए तापनि त्यो चीनले विशाल परेडमा नयाँ अस्त्र, ड्रोन र अन्य सैन्य हार्डवेयरको दायरा अनावरण गरेपछि आएको छ ।