म्यानमारमा सैन्य कू विरुद्ध प्रदर्शन चर्किएको छ । दोस्रो दिन पनि याङ्गुनमा एक हजार भन्दा बढि मानिस प्रदर्शनका लागि भेला भएका छन् ।
हप्ता दिन पहिले म्यानमारकाे सेनाले निर्वाचित सरकारलाई हटाएर सत्ता आफ्नो हातमा लिएको थियो ।
आङ साङ सूकीसहितका नेताहरुलाई गिरफ्तार गरेर सेनाले म्यानमारमा एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । एएफपी समाचार संस्थासँगको कुराकानीमा प्रदर्शनकारी मियो विनले आफूहरु प्रजातन्त्रका लागि अगाडि आएको बताए । याङ्गुन विश्वविद्यालय नजिक प्रहरीका ट्रक तथा दंगा नियन्त्रण साधनहरु तैनाथ गरेको छ । याङ्गुनसहित अरु शहरहरुमा पनि प्रदर्शन भएको छ ।
मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले म्यानमारमा भएको इन्टरनेट सेवा बन्दको निन्दा गरेको छ । मानवअधिकारको गम्भीर उल्लंघनका घटना बढ्ने जोखिम बढ्दै गएको एम्नेस्टीको भनाइ छ ।
