अमेरिकी दूतावासद्वारा विधिविज्ञान प्रयोगशालालाई आधुनिक उपकरण र सफ्टवेयर हस्तान्तरण

काठमाडौं ।   नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको उपस्थितिमा नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुशीलाई कम्बाइन्ड डीएनए इन्डेक्स सिस्टम (कोडिस) डीएनए सफ्टवेयर तथा रेडियन एट्मोस्फेरिक प्रेसर सोलिड्स एनालाइसिस प्रोब (एएसएपी) मास स्पेक्ट्रोमिटर ड्रग डिटेक्सन इन्स्ट्रुमेन्ट हस्तान्तरण गरेको छ ।

प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीमा बुधबार आयोजित कार्यक्रमबीच प्रविधि हस्तान्तरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी थापाले बुधबार हस्तान्तरण भएका आधुनिक उपकरणहरू र प्रविधिहरूले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने उल्लेख गर्दै प्रयोगशालाबाट प्रवाह हुने सेवालाई अझ छिटोछरितो बनाउनुका साथै वैज्ञानिक रूपमा मान्य र भरपर्दो प्रमाणहरू समेत प्राप्त हुने विश्वास व्यक्त गरे ।

कोडिस प्रणालीको सुविधाले फोरेन्सिक डीएनए विश्लेषण क्षमतालाई अन्तर्राष्ट्रिय मापदण्डमा लैजाने तथा नेपालको समग्र फौजदारी न्याय प्रणाली सुदृढ बनाउने उल्लेख गर्दै रेडियन एएसएपी मास स्पेक्ट्रोमिटरले लागूऔषधको स्क्रिनिङमा समेत क्षमता अभिवृद्धि हुने उनले बताए ।

आईजीपी थापाले अमेरिकी दूतावासले केन्द्रीय विधिविज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि एवं विकासको लागि विगतका वर्षहरूमा विभिन्न परामर्श, तालिमहरू र उपकरणहरू समेत प्रदान गर्दै आइरहेको र यसले गर्दा अन्तर्राष्ट्रिय मापदण्डहरू अनुरूप क्षमतावान एवम् दक्ष फोरेन्सिक विज्ञहरू उत्पादन गर्न मद्दत पुगेको बताए । आधुनिक प्रविधिहरूको एकीकरणले नेपाल प्रहरीको संस्थागत क्षमतालाई सुदृढ बनाउनुका साथै कानून कार्यान्वयन तथा शान्ति सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा नेपालको लागि अमेरिकी राजदूत डिन आर थम्पसनले हस्तान्तरण गरिएको आधुनिक प्रविधिले विधि विज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै अपराधको अनुसन्धान एवं हराएका व्यक्तिको पहिचानमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, अमेरिकी दूतावासका प्रतिनिधिहरू लगायतका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *