प्रदेश सरकारविरुद्ध निर्माण गरिएको गलत भाष्य चिनुपर्छः मुख्यमन्त्री बानियाँ

सिन्धुपाल्चोक। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारविरुद्ध निर्माण गरिएको गलत भाष्य चिनुपर्ने बताएका छन्। मुख्यमन्त्री भएपछि आज पहिलोपटक सिन्धुपाल्चोकको मेलम्ची पुगेका बानियाँले गणतन्त्रपछि स्थापित विकासको बाहक प्रदेश सरकारविरुद्ध विशेषगरी सामाजिक सञ्जालबाट गलत भाष्य निर्माण गर्न खोजिएको धारणा राखे।

‘गणतन्त्र स्थापना भएपछि गाउँगाउँमा सडक, पुल, शिक्षा, स्वाथ्य, सञ्चार सुविधा पुगेको छ। यो कुरा यो व्यवस्था विरोधीहरूलाई मन परेको छैन। त्यसैले फेसबुक, ट्वीटर, युट्यूवजस्ता सामाजिक सञ्जालबाट बदनाम गराउने प्रयास भइरहेको छ’, उनले भने।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले आज यहाँ बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा मुख्यमन्त्री बानियाँ, स्वास्थ्यमन्त्री किरण थापा, आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङलाई सम्मान गरिएको थियो।

यस्तै, नवौँ एसिया गोजुरियो कराँते प्रतियोगितामा स्वर्णपदक विजेता खेलाडी करीना पुरी, ‘नेपाल आइडल सिजन-६’ का प्रतियोगी गङ्गा सोनाम र आठौँ हिरोज अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रजतपदक विजेता ११ वर्षीय खेलाडी शशांक तामाङलाई सम्मान गरिएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए।

यसैबीच कांग्रेस क्षेत्र नं २ ले मुख्यमन्त्री बानियाँसहित कांग्रेसबाट नियुक्त भएका मन्त्रीलाई सम्मान गरेको छ। आजै यहाँ एक कार्यक्रमबीच कांगेसका नेता तथा कार्यकर्ताको उपस्थितिमा उनीहरूलाई सम्मान गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *