बुद्ध विहार पुन:निर्माणका लागि महानगरपालिकाको ७० लाख सहयोग

काठमाडौं । भृकुटीमण्डप बुद्ध विहार पुन:निर्माणका काठमाडौं महानगरपालिकाले ७० लाख रुपैयाँ उपलब्ध गराएको छ।

शनिबार राजधानीको भृकुटीमण्डपस्थित विहारको सभा हलमा आयोजित कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले पुन:निर्माण समितिका अध्यक्ष भिक्षु कौडिन्य महास्थविर र कोषाध्यक्ष सुरेश महर्जनलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

महानगरवासीको संवेदनशीलतासँग जोडिएका नेपाल चिनाउने संस्कृति, सम्पदा र विहार निर्माण पुन:निर्माण र संरक्षण गरी उच्च प्राथमिकतामा राख्ने महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए।

सो अवसरमा महानगरपालिकाका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले पनि संस्कृति सम्पदा र विकास निर्माणको क्षेत्रमा काम गर्ने विषयमा मेयर शाक्यसँग सहकार्य गरेर नै आफू अघि बढिरहेको जानकारी दिइन्।

समितिका अध्यक्ष भिक्षु कौडिन्य महास्थविरले सर्वसाधारणको दाताहरुको सहयोगमा भइरहेको पुनः निर्माणमा गत वर्ष र चालू आर्थिक वर्षमा गरी महानगरपालिकाले उपलब्ध गराएको १ करोड ७० लाख रुपैयाँबाट पुनःनिर्माणले तीव्रता पाएको बताए। विहार भुकम्पबाट क्षतिग्रस्त भएको थियो।

८ हजार ५ सय ५७ वर्ग मिटर क्षेत्रफलमा निर्माण भइरहेको विहार नेपाली मालिकसहित र कलात्मक शैलीमा निर्माण भइरहेको छ। करिब ५ करोड रुपैयाँ लागतमा पुनःनिर्माण भइरहेको हो।

विभिन्न दाताहरुको सहयोगमा दुई वर्षअघि सो विहारको पुनःनिर्माण कार्य शुरू भएको थियो। पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ। महानगरपालिकाको दोस्रो अनुदान रकमले निर्माणाधीन भवनसँगैको अर्को भवन पुन:निर्माण गर्ने समितिका सहसचिव सुनील महर्जनले जानकारी दिए। बुद्ध बिहार २०३४ साल फागुन महिनाको चिर रथारोहण अष्‍टमीको दिन स्थापना गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *