विपिनकी आमा र बहिनीले भेटे इजरायली राष्ट्रपति, रिहाइका लागि पहल गर्न अपील

काठमाडौं । हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेका छन् ।

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले आइतबार विपिनकी आमा र बहिनीलाई राष्ट्रपतिसँग भेटवार्ता गराएका हुन् । राष्ट्रपति समक्ष प्रत्यक्ष भेट हुन पाउँदा आमा पदमा जोशी र बहिनी पुष्पाले खुसी प्रकट गर्दै भेटमा आमा पदमाले आफ्नो छोरा विपिनको शीघ्र रिहाईको लागि पहल गरिदिन अनुरोध गरिन् ।

दाजु विपिन एक विद्यार्थीको रुपमा इजरायल आएको र निर्दोष भएकोले हरतरहबाट पहल गरी हमासको बन्धकबाट मुक्त गरि दिन बहिनी पुष्पाले राष्ट्रपति समक्ष अपील गरिन् । वार्तामा राजदूत पण्डितलेसमेत पुनः विभिन्न तवरबाट पहल गरी विपिनको स्थितिकोबारेमा जानकारी गराईदिन हुन विशेष अनुरोध गरेका छन् ।

आजै उनीहरुले इजरायली संसदका अध्यक्ष अमिर ओहानासँग समेत भेटघाट गरी विपिनको मुक्तिका लागि जोड गरि दिन आग्रह गरेका छन् । जवाफमा राष्ट्रपति हर्जोगले विपिन जोशी एक विद्यार्थीको रुपमा आएको र ०७ अक्टुवर २०२३ मा भएको हमासको अचानक आक्रमणमा परि गाजामा हमासले बन्धक बनाएको विषय अब नौलो नरहेको बताए । उनले एक असल मित्रवत सम्बन्ध भएको देशको एक नागरिक विपिन आफ्नै नागरिक जस्तो लाग्ने बताए ।

उनले विपिनको रिहाईको लागि आफू र आफ्नो सरकारबाट हरदम कोसिस भइरहेको बताए । उलने नेपाल सरकार पक्षबाट पनि यस सम्बन्धमा सम्बन्धित अरब देशहरुसँग पुनः वार्ता हुन सके विपिनको रिहाईमा थप बल पुग्ने बताए ।

त्यसैगरी इजरायली संसदका अध्यक्षले पनि विपिन जोशीकाबारेमा आफूहरुलाई निकै चासो भएको र उनको खोजी कार्यमै रहेको बताएको दूतावासले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *