काठमाडौं । चलचित्र ‘बलिदान’को टिजर सार्वजनिक भएको छ । सन्तोष सेनको निर्देशनमा तयार भएको यस चलचित्रको टिजरले सार्वजनिक गरिएको हो ।
बडादसैँको फूलपातीको दिन प्रदर्शनमा आउने चलचित्रको टिजरको सुरुवातमा देशको एक हिस्सा बैरीहरूको निशानामा परेको र उनीहरूलाई रोक्न असम्भव भएको उद्घोष सुनिन्छ । यसैबीच पृष्ठभूमिमा अभिनेता सौगात मल्ल मसाल बोकेर दृढ अडानका साथ उभिएका देखिन्छन् ।
त्यसपछि अभिनेता हेमन्त बुढाथोकीको आवाज गुन्जिन्छ, जहाँ उनले कालीमाताको चरणमा रगत चढाउँदै बिताएको समय र त्यो बलिदानको अभिनय पूरा भएको भाव व्यक्त गर्छन् । दृश्यमा बुढाथोकी राजसी पहिरनमा देखिन्छन् भने अर्पण थापा सशक्त राजनेताको भूमिकामा छन् ।
‘आसुसेन फिल्मस प्रालि’को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट, कार्यकारी निर्माता प्रेम पुरी हुन् ।