कुवेतमा विषाक्त मदिरा पिउँदा मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

काठमाडौं । कुवेतमा विषाक्त मदिरा पिउँदा मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ । ज्यान गुमाएका २३ एसियाली नागरिकमध्ये १६ जना नेपाली रहेका नेपाली दूतावासलाई उदृत गर्दै नेपाल पत्रकार महासंघ कुवेत शाखाले पुष्टि गरेको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै विषाक्त विषादीयुक्त मदिरा सेवनका कारण ज्यान गुमाउनेको पूर्ण विवरण अझै नखुले पनि १६ जना नेपालीको ज्यान गएको जनाएको छ ।

यसैबीच, कुवेतस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपालीलाई स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ सेवनबाट टाढा रहन आग्रह गरेको छ । शुक्रबार विज्ञप्ति जारी गरी दूतावासले विषाक्त मदिरा सेवनबाट नेपालीको निधन भएको घटनामा दुःख व्यक्त गर्दै यस्तो आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ’स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ सेवनबाट टाढा रहनु हुनसमेत राजदूतावास विशेष अनुरोध गर्दछ ।’ दूतावासले घटनामा ३५ नेपाली नागरिक विभिन्न स्थानीय अस्पतालमा उपचाररत रहेको पनि जनाएको छ । घटनाबारे जानकारी पाएसँगै राजदूत र दूतावासका कर्मचारीहरूले नेपालीको उपचार भइरहेको अस्पताल पुगेर उनीहरूको अवस्थाबारे जानकारी लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *