साउनको अन्तिम सोमबारः पशुपतिमा लाखाैँ भक्तजनद्वारा दर्शन

काठमाडौँ । यस वर्षको साउन महिनाको अन्तिम सोमबार हिजो लाखौँ भक्तजनले पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गरेर पूजा, आराधना एवं दर्शन गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका अनुसार साउनको अन्तिम सोमबार भएकाले मध्यरातिसम्म दर्शन एवं पूजा, आराधना गर्ने भक्तजनका लागि मन्दिर खुला गरिएको छ । बिहान साउने झरीका कारण कम भक्तजन आए पनि पानी रहँदै जाँदा दर्शनार्थीको सङ्ख्या बढेको कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिए । पशुपतिमा सोमबार स्वदेशी एवं विदेशी भक्तजनको पनि घुइँचो थियो ।

“पछिल्लो समय पशुपति क्षेत्रमा बेलुकीको आरतीका बेलासम्म पनि धेरै भक्तजन पुग्ने गरेका छन् । पशुपतिमा मूल मन्दिर बाहिर दुई स्थानमा आरती हुने भएकाले धेरै भक्तजन बेलुका पशुपति क्षेत्रमा पुग्छन् । आरतीमा जाने भक्तजन रातिसम्म पनि पशुपति क्षेत्रमै पूजा, आराधना एवं दर्शन गर्न बस्ने गरेका छन्”, उनले भने ।

यस वर्ष साउनको अन्तिम सोमबार तीन लाखभन्दा बढी भक्तजनले मूल मन्दिरभित्र छिरेर पूजा, आराधना एवं दर्शन गरेका कोषको अनुमान छ । बाहिरी भागमा आएर मूल मन्दिरभित्र नछिर्नेको पनि त्यति सङ्ख्यामा रहेकाले करिब छ लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्र पुगेका सदस्य सचिव जोशीले जानकारी दिए ।

साउन महिनाको अन्तिम सोमबार हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्द, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारीलगायतले पशुपतिनाथको मूल मन्दिर प्रवेश गरेर पूजा, आराधना एवं दर्शनका लागि पुगेको उनले बताए ।

हिजो राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, सन्तानेश्वर, हनुमानढोका दरबार क्षेत्रस्थित सानो पशुपतिाथ भनेर चिनिने मक्खन महादेवलगायत उपत्यका एवं देशभरका शिवालयमा पनि भक्तजनको बिहानैदेखि लाम लागेको थियो । यी मन्दिरमा पनि भक्तजनको बिहानैदेखि लाम लागेको थियो ।

सोमबार वर्तालुले गोदान एवं पूर्णपात्र दान गरेर सोमबारे व्रत उद्यापन गरेका छन् । कति भक्तजनले भने मध्यरातिसम्म जाग्राम बसेर आज बिहान गोदान एवं पूर्णपात्र दान गरी साउने सामेबारको व्रत समापन गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *