पोखरा । पोखरा उद्योग वाणिज्य संघले व्यक्तिको सम्पत्तिमाथिको हक रक्षा एवं घरजग्गा कारोबारलाई पुनर्जीवन दिने गरी पोखराको लिचीबारी प्रकरण निरुपणको माग गरेको छ ।
आइतबार विज्ञप्ति जारी गरी संघले पछिल्लो समय संचारमाध्यममा आएको पोखरा १६ को ‘लिचीबारी प्रकरण’ ले यसबाट व्यक्तिको सम्पत्तिमाथिको अधिकार एवं घरजग्गा व्यवसायमा असर गरेको जिकिर गरेको हो ।
विज्ञप्तिमा भनिएको छ,‘नेपालको संविधान २०७२ को भाग ३ मा उल्लेखित मौलिक हक र कर्तव्यको धारा २५ ले नागरिकलाई सम्पत्तिको हक प्रदान गरेको छ । धारा २५ को १ ले ‘प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक’ दिएको छ । संविधानप्रदत्त मौलिक हकको अधिनमा रही व्यक्तिले सम्पत्ति (घरजग्गासमेत) आर्जन गर्नु कानूनी अधिकार हो । यो अधिकारको प्रयोग गरी आर्जन गरिएको, राज्यकै निकायबाट प्राप्त लालपूर्जाको आधारमा बैंकबाट कर्जा लिइ कृषि व्यवसायसमेत संचालन गरिएको तथा एउटा पुस्ताबाट अर्को पुस्तामा स्वामित्वसमेत हस्तान्तरण भइसकेको जग्गाको पुनः स्वामित्व प्रमाणित गर्नुपर्ने अवस्थाले स्वभाविक रुपले राज्य संयन्त्रका गतिविधिमाथि प्रश्नचिन्ह खडा हुन्छ÷अविश्वास पैदा हुन्छ । यस्ता कार्यलाई कुनै पनि कोणबाट उचित मान्न सकिँदैन ।’
संघले संचारमाध्यममा आएका समाचारहरुले सुशासनमाथि धावा बोल्ने, व्यक्तिलाई सम्पत्तिमाथिको अधिकारबाट च्यूत गराउने तथा लालपूर्जा सिरानी हालेर बसेका नागरिकहरुले पनि असुरक्षा महसुस गर्ने परिस्थिति निर्माण भएको जिकिर गरेको छ ।