सशस्त्र प्रहरीद्वारा रौतहटमा पाँच करोड ७४ लाख मूल्यको सामान बरामद

रौतहट । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल रौतहटले गत आर्थिक वर्ष २०८१/८२ मा ५ करोड ७४ लाख २ हजार ६९९ रुपैयाँ मूल्य पर्ने सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतले गत आवमा सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै भन्सार छलीका सामान बरामद हुनेक्रम उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिए।

‘गत आवमा मात्रै २ करोड ३१ लाख ४७ हजार रुपैयाँ मूल्य पर्ने स्कोरपियो गाडीदेखि साइकलसम्मका सवारीसाधन बरामद गरेका छौँ’, उनले भने, ‘सोही अवधिमा २ करोड ४८ लाख ४५ हजार ६५३ रुपैयाँ मूल्य पर्ने अवैध किराना, कस्मेटिक, लत्ताकपडा र मोटरपार्टस्का समान पक्राउ गर्न सशस्त्र प्रहरी सफल भएको छ ।’ सशस्त्र प्रहरीका अनुसार गत आवमा एक/एक थान स्कोरपियो र सफारी गाडी बरामद गरिएको छ ।

त्यसैगरी, एक/एक थान बोलेरो, म्याजिक र अटोरिक्सासहित १८० वटा मोटरसाइकल बरामद गरी गौर भन्सार कार्यालयलाई बुझाएको छ । सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले गत आवमा स्रोत नखुलेका ४८ लाख १७ हजार ११० रुपैयाँ रकम बरामद गरेको पनि जानकारी दिए।

त्यस्तै, सोही अवधिमा स्रोत नखुलेका ९ लाख ४९ हजार ४४९ भारतीय रुपैयाँ पनि बरामद भएको छ । सशस्त्र प्रहरीले गत आवमा ६९३ क्युफिट काठ बरामद गरेर डिभिजन वन कार्यालय रौतहटलाई बुझाएको जनाएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक बस्नेतका अनुसार गत आवमा ४०६ कार्टुन अर्थात् ५ लाख ५१ हजार ८२५ मूल्यको मदिरा बरामद गरिएको छ । सोही अवधिमा ८५० किलोग्राम माछा, १ हजार २४९ किलोग्राम बोइलर कुखुरा, १६ वटा गाईगोरु, भैँसी र पाडापाडी पनि बरामद गरिएको छ ।

त्यस्तै, रौतहट जिल्लास्थित सशस्त्र प्रहरीबलले ४ लाख ३ हजार ५६ रुपैयाँ मूल्यका पटकासमेत बरामद गरेको जनाएको छ । दक्षिणी सीमानाकामा ५ वटा ‘बोर्डर आउटपोष्ट’ रहेको रौतहटमा अरु ८ वटा सुरक्षाबेस क्याम्पमार्फत सशस्त्र प्रहरीले प्राप्त जिम्मेवारी पूरा गरिरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *