कसरी भयो कैलाली कारागारमा हिंसात्मक घटना ?

सुदूरपश्चिम । राष्ट्रिय मानव अधिकार आयोगले कैलाली कारागारमा भएको घटनामा सुरक्षा लापरबाही मुख्य कारण रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयबाट खटिएको टोलीले शनिबार कारागार कार्यालयको निरीक्षण गर्दै कारागार प्रशासन र फितलो सुरक्षाका कारण कारागारभित्र हिंसात्मक घटना भएको निष्कर्ष निकालेको हो ।

दिउँसो घटनास्थलको निरीक्षण गर्दा कारागार प्रशासनका प्रमुख विदामा भएको कारण समन्वयको अभाव, आन्तरिक सुरक्षामा लापरवाही, क्षमता भन्दा बढी कैदीबन्दी र कैदीबन्दीको स्थान्तरण पारदर्शी हिसाबले नभएको लगायतका कारणले घटना हुन पुगेको देखिएको मानव अधिकार आयोग धनगढीका प्रमुख प्रकाशदत्त भट्टले जानकारी दिए ।

अहिले कैदीबन्दीले भित्रबाट ढोका लगाएर सुरक्षाकर्मीलाई समेत भित्र जान दिएका छैनन् । गएराति कैलाली कारागारभित्र भएको झडपमा एक जनाको ज्यान जानुकासाथै ४७ जना घाइते भएका छन् । घाइते सबैको उपचार भइरहेको छ । घाइते मध्ये गम्भिर अवस्थाका दुई जना आइसीयूमा छन् ।

कारागारमा गएराति ब्लक ‘ए’ मा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ब्लक ‘बी’ मा रहेका कैदीबन्दीमाथि आक्रमण गरेका थिए । यसैबीच जिल्ला प्रशासन कार्यालय कैलालीले कारागारमा भएको झडपको विषयमा छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । समितिलाई १० दिनको समय दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *