काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई गृहनगर झापामै ईतर पक्षको नराम्रो चुनौती मिलेको छ । आफैं प्रमुख अतिथि बनेर अध्यक्ष लिङ्देन्ले उदघाटन गरेको दमक नगरपालिकाको पार्टी अधिवेशनमा अध्यक्ष लिङ्देन पक्षीय उम्मेदवार नगर अध्यक्षमा पराजित बनेका छन् ।
शनिबार सम्पन्न दमक नगर अधिवेशन एकातिर सर्वसम्मत हुन सकेन भने अर्कातिर संस्थापन पक्षका उम्मेदवार राजकुमार योङया नराम्ररी पराजित भए । राप्रपा दमक नगर सभापतिमा ईतर पक्षका हेम सुवेदी भारी मतान्तरले विजयी भएका छन् ।
आफैं उपस्थित भएर आफैंले उद्घाटन गरेको अधिवशेनमा, त्यो पनि आफ्नै जिल्ला र चुनाव क्षेत्रमा, आफूले समर्थन गरेका नगर अध्यक्षका उम्मेद्वार राजकुमार योङ्या पराजित भएपछि अध्यक्ष लिङ्देनले दमकमा नै दनक भेट्नु परेको छ ।
स्थानीय तहका अधिवेशन गराउन ईतर पक्षलाई बाइपास गर्दै एकलौटी केन्द्रीय प्रतिनिधि तोकेका अध्यक्ष लिङ्देनले आफ्नै गृहनगरमा पाएको धक्काले उनलाई आगामी मंसिर हुनुपर्ने महाधिवेशन भारी पर्दै गएको देखिएको छ ।
यसैबीच गत बिहीबार राजधानीको तपस होटलमा अध्यक्ष राजेन्द्र लिङ्देनले राखेको संस्थापन पक्षको भेलामा पनि आउँदो चैत्रसम्म महाविशेन सार्ने प्रस्ताव अघि सारिएको छ ।
भेलामा लिङ्देन पक्षकै सहमहामन्त्री प्रकाश रिमालले संस्थापन पक्षको तयारी नपुगेकोले मंसिरको महाधिवशेन चैत्रसम्म सानुपर्ने प्रस्ताव राखेका थिए । राप्रपामा ईतर पक्ष सशक्त रहेकोले हाल संस्थापन पक्ष रक्षात्मक अवस्थामा छ ।