काठमाडौं । फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करणको मिनी अक्सन आज हुँदैछ । नेपाल प्रिमियर लिगको आधिकारिक युट्युब च्यानलमा प्रत्यक्ष प्रशारण हुने अक्सन दिउँसो ३ बजे शुरू हुने नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ ।
आज हुने अक्सनमा १ सय ५० खेलाडीमाथि बोली लाग्नेछ । तर १ सय ५० खेलाडीबाट विभिन्न आठ टोलीले ३७ खेलाडीमात्र अनुबन्ध गर्न पाउनेछन् । आठ फ्रेन्चाइज टोलीले यसअघिनै ५१ खेलाडीलाई रिटेन गरिसकेका छन् ।
एनपीएलको अक्सनमा सहभागी हुन ४ सय ५८ खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । बुधबार क्यानले उक्त सूचीबाट एनपिएलमा सहभागी आठ टोलीले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार अन्तिम सुची सार्वजनिक गरेको थियो ।
अन्तिम सूचीमा खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको छ । क्यानले सार्वजनिक गरेको सूचीको श्रेणी ए मा आठ खेलाडी रहेका छन् । जसमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम परेका छन् ।
त्यस्तै श्रेणी ‘बी’ मा अर्जुन कुमाल, दीपक बोहोरा, प्रज्वल थापालगायत ३५ तथा श्रेणी ‘सी’ मा १ सय ७ जना खेलाडी रहेका छन् ।
खेलाडीको मुल्यपनि श्रेणी अनुसार निर्धारण गरेको छ । श्रेणी ‘ए’मा रहेका खेलाडीका लागि अधिकतम १५ लाख रुपैयाँको बोली लाग्नेछ भने श्री ‘बी’ मा रहेका खेलाडीका लागि १० लाख रुपैयाँ र श्रेणी ‘सी’मा रहेका खेलाडीका लागि ५ लाख रुपैयाँको बोली लाग्नेछ । एक भन्दा बढी टोलीले अधिकतम मुल्यमा खेलाडी किन्न चाहेको खण्डमा गोलप्रथाको आधारमा टोलीको छनोट गरिनेछ ।