काठमाडौँ । एएफसी यु–२० महिला एसियन कप छनोटमा नेपालले संघर्षपूर्ण जित हासिल गरेको छ । शुक्रबार दिउँसो सम्पन्न खेलमा साउदी अरेबियालाई १-० गोलले हराउँदै नेपालले छनोटमा पहिलो जित निकालेको हो ।
भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशालामा भएको खेलमा नेपालको लागि सुक्रिया मियाँले निर्णायक गोल गरिन् । उनले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै नेपाललाई जित दिलाएकी हुन् । जितसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ ।
पहिलो खेलमा नेपाल घरेलु टोली भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो । यस जितसँगै नेपालले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी एसियन कपमा छनोट हुने सम्भावनालाई जीवित राखेको छ । लगातार दोस्रो हारसँगै साउदी भने एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ ।
अब नेपालले आइतबार उत्तर कोरियासँग खेल्नेछ ।
