काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारको कार्यशैलीको कमजोरी देखाएर नेपालमा जेलेन्स्की जन्मिन खोजेको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बास्कोटाले जनतामा देखिएको निराशालाई भजाएर लोकप्रियतावादीले नेपालमा नयाँ खालको जेलेन्स्की जन्माउने खोजेको बताएका हुन् । उनले स्थापित मूल्य पद्धतिको काम छैन भनेर केही चटकेले समाजलाई नचाउन खोजेको बताए ।
उनले भने, ‘दुई–चार महिना यता, सरकारको कार्यशैलीको समस्या, कामका देखिएको ढिलासुस्ती र त्यसको निराशाका आधारमा नयाँ भाष्य सृजना गर्न खोजिँदैछ । हामी रातो घोडामा सवार भइसक्यौं, अब पुरानाको काम छैन । ०६३ सालको स्थापना गरेको मूल्य पद्धतिको काम छैन भनेर केही चटकेले समाजलाई नचाउन खोज्दैछन् ।’
उनले ८४ सालमा देखाउँछौं भन्ने भूतले तर्साउन खोजेपनि उनीहरूको ‘खुट्टी’ जनताले देखिसकेको बताए । उनले भने, ‘सबैलाई एउटा परेको छ– ०८४ मा देखाउने, यो भूतले सबैलाई लखेटेको देखेको छु । जनताले तिनको खुट्टी देखेका छन् ।’ उनले संसदमा नियमित अवरोध गरिरहेको रास्वपाले आफूले उठाएको प्रश्नको तथ्य दिन नसकेको बताए ।
उनले भने, ‘केही दिनदेखि देखिएको छ, सर्लक्क आउनुहुन्छ– कहिले नाराबाजी, कहिले पलेँटी मार्नुहुन्छ, कहिले कक्षाकोठाको जस्तो होमवर्क गर्नुहुन्छ । हुँदा हुँदा २ मिनेट उभिएर एकोहोरो शंख फुक्नु हुन्छ, अनि लुरुलुरु मौन यात्राका मलामी जस्तो बाहिर निस्कनु हुन्छ । यस्तो अवस्था किन ? जे प्रश्न उठाएको त्यसको तथ्य छैन, जवाफ दिन तयार हुनुहुन्न ।’