बजेट तथा कार्यक्रम अघि बढाउन कर्मचारीलाई मन्त्री दाहालको निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वन अघि बढाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

सडक विभागको गत आर्थिक वर्षको प्रगती समीक्षा कार्यक्रमलाई संवोधन गर्दै बुधबार मन्त्री दाहालले ‘अहिले के को हतार, बिस्तारै गरौंला नि’ भन्ने नसोची बजेट तथा कार्यक्रम कार्यान्वनको प्रकृया अघि बढाउन निर्देशन दिएका हुन् ।

आर्थिक वर्ष सुरु हुनु भन्दा डेढ महिना अघिनै बजेट सार्वजनिक गर्नुको मर्म पनि आर्थिक वर्षको सुरुवातसँगै कार्यान्वयन प्रकृया अघि बढाउन सहज होस् भन्ने रहेको उल्लेख गर्दै मन्त्री दाहालले बेलैदेखि काम सुरु गरि उच्च नतिजा निकाल्न निर्देशन दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नागरिकलाई विकासको महसुस गराउने प्रमुख मन्त्रालय रहेको र यस मध्ये पनि सडक विभाग प्रमुख अंग रहेकाले सडक विभागको काम र परिणामले सिंगो मन्त्रालयको कार्यसम्पादन र नतिजामा ठुलो अर्थ राख्ने मन्त्री दाहालको भनाई थियो ।

थालिएका योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्नुपर्ने भन्दै मन्त्री दाहालले अब सुरु गर्ने योजनामा कुनै अवरोध आउन नदिन आग्रह समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *