काठमाडौं । संसदको सुशासन तथा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकको ‘कुलिङ अफ पिरियड’मा भएको त्रुटिकाबारेमा आफूले नैतिक जिम्मेवारी लिने बताएका छन् ।
सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले खतिवडा र सचिव सुरजकुमार दुरालाई दोषी किटान गर्दै प्रतिवेदन तयार पारेपछि खतिवडाले यस्तो बताएका छन् । उनले अब समितिको प्रतिवेदन हेरेपछि आफूले निर्णय गर्ने बताए ।
समितिको पूर्ण निर्णय हेरेपछि पार्टी नेतृत्वसँग छलफल गर्ने राजनीतिक निर्णय लिने बताए । सभापतिको हैसियतमा आफूले प्रतिवेदनमा हस्ताक्षर गरेको भन्दै उनले यसमा आफू र सबै सांसदबाट गल्ती गरेको बताए ।
छानबिन समितिले सभापतिको हैसियतले खतिवडाले आफ्नो भूमिका पूरा गर्न नसकेको निष्कर्षसहितको प्रतिवेदन तयार गरेको छ । समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।
त्रुटि कसरी हुन्छन् भविष्यमा यस्ता त्रुटि हुन नदिन विशेषज्ञसँग परामर्श गरेर विशेष समितिले प्रतिवेदन तयार गरेको जनाइएको छ । समितिमा संसद्मा विधेयक निर्माणको सन्दर्भमा हुने गरेको यस प्रकारका गतिविधि आगामी दिनमा हुन नदिन कमीकमजोरीलाई सच्याउन सरोकारवाला व्यक्तिसमेत विभिन्न कोणबाट छलफल भएको छ ।
प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेपाल कम्यनिष्ट पार्टी (एमाले)बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीाबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की छन् ।