बहुविवाहको कानुनबारे कानुनमन्त्रीः मेरा पनि छोरीहरू छन्, महिलालाई गाह्रो हुनेगरी कानून बनाउँछौं त?

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकारले बहुविवाहलाई मान्यता दिनेगरी कानुन निर्माण नखोजेको बताएका छन् ।

आइतबार नेपाल महिला संघको ज्ञापन पत्र बुझ्दै मन्त्री चौरसियाले सरकारले बहुविवाहलाई मान्यता दिने गरी कानुन निर्माण गर्ने कुरा नसोचेको बताएका हुन् । उनले अवैध सम्बन्धबाट गर्भ रहँदा जन्मिएको सन्तानको अधिकार सुनिश्चित गर्नका लागि कानून संशोधन गर्न लागेको जिकिर गरे ।

मन्त्री चौरसियाले यसमा पुरुष वा महिला जो कोही दोषी पाइए पनि उसलाई कारबाही गर्नेगरी कानून निर्माण गर्न लागिएको बताए ।

उनले भने, ‘मेरा पनि छोरीहरू छन् । महिलालाई गाह्रो हुनेगरी कानून बनाउँदैनौँ । बहुविवाहलाई प्रोत्साहन गर्ने गरी होइन । शब्दबाट कुनै गलत अर्थ लाग्ने रहेछ भने त्यो पनि हामी संशोधन गर्दछौँ ।’

कानुन मन्त्रालयले विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध विस्तार गर्दा गर्भ रहे वा बच्चा जन्मिए दोस्रो विवाह कायम हुने गरी संहिताको धारा १७५ संशोधन गर्न लागेपछि अहिले यो विषयमा बहस भइरहेको छ ।

मन्त्री चौरसियाले सरकारले गलत सम्बन्धबाट गर्भ रही जन्मिएको सन्तानको अधिकार सुनिश्चित गर्नका लागि कानुन संशोधन गर्न लागेको बताए । यसमा पुरुष वा महिला जो कोही दोषी भएपनि उसलाई कारबाही गरिने गरी कानुन बन्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *